एजेन्सी – दक्षिण कोरियाली फरवार्ड ह्युङ मिन सनको ह्याट्रिकमा टोटेनहम हटस्परले इंग्लिस प्रिमियर लिगमा सानदार जित दर्ता गरेको छ । टोटेनहमले घरेलु टोली एस्टन भिल्लालाई ४–० ले पराजित गरेको हो ।
भिल्ला पार्क बर्मिङघममा शनिबार राति भएको खेलमा एक गोल डिजान कुलुसेभ्स्कीको नाममा रह्यो । खेलको तेस्रो मिनेटमा नै ह्युङ मिन सनको गोलबाट टोटेनहमले पहिलो हाफमा १–० को अग्रता लिन सफल भएको थियो ।
५०औं मिनेटमा डिजान कुलुसेभ्स्कीले गोल गर्दै टोटेनहमको अग्रता दोब्बर पारे । उनले ह्यारी केनको पासमा गोल गर्न सफल भएका थिए । ६६औं मिनेटमा ह्यारी केनकै पासमा सनले व्यक्तिगत दोस्रो र टोलीका लागि तेस्रो गोल गरेपछि टोटेनहम खेलमा ३–० ले अघि बढ्यो ।
७१औं मिनेटमा डिजान कुलुसेभ्स्कीको पासमा सनले ह्याट्रिक पुरा गर्दै टोटेनहमलाई फराकिलो जित दिलाए । यो जितसँगै टोटेनहम ३१ खेलबाट ५७ अंक जोडेर चौथो स्थानमा उक्लिएको छ । पराजित एस्टन भिल्ला ३१ खेलबाट ३६ अंक जोडेर १२औं स्थानमा रहेको छ ।
म्यानचेस्टर युनाइटेड र आर्सनल स्तब्ध
म्यानचेस्टर युनाइटेड र आर्सनल इंग्लिस प्रिमियर लिगमा स्तब्ध बनेको छ । म्यानचेस्टर युनाइटेड एभर्टनसँग उसकै मैदानमा १–० ले स्तब्ध बनेको हो ।
गुडिसन पार्कमा शनिबार राति भएको खेलमा युनाइटेडलाई स्तब्ध पार्न घरेलु टोली एभर्टनका एन्थोनी गोर्डनले पहिलो हाफमा गरेको गोल नै निर्णायक बन्यो ।
गोर्डनले २७औं मिनेटमा गोल गर्न सफल भएका थिए । त्यसपछि थप गोल निस्कन नसक्दा युनाइटेड घरेलु टोलीसँग स्तब्ध बन्न पुग्यो । युनाइटेडले घरेलु टोलीलाई दवावमा राखेपनि फिनिसिङमा चुक्दा पराजित हुन पुग्यो ।
यो हारसँगै युनाइटेड ३१ खेलबाट ५१ अंक जोडेर सातौं स्थानमा रहेको छ । एभर्टन ३० खेलबाट २८ अंक जोडेर १७औं स्थानमा रहेको छ ।
लिगकै अर्काे खेलमा आर्सनल घरेलु मैदानमा ब्राइटनसँग २–१ ले स्तब्ध बनेको छ । ब्राइटनको जितमा लियान्द्रो ट्रोससार्ड र इनक मिपाले गोल गरे । घरेलु टोली आर्सनलका मार्टिन ओडेगार्डले गोल गरेपनि हार टार्न सकेन ।
इमिरेट्स स्टेडियममा शनिबार राति भएको खेलको २९औं मिनेटमा लियान्द्रो ट्रोससार्डको गोलबाट ब्राइटनले सुरुवाती अग्रता लिएको थियो । उनले इनक मिपाको पासलाई सदुपयोग गरेका थिए । पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा गाब्रियल मार्टिनेलीले गोल गरेपनि भिएआरबाट मान्यता नपाउँदा आर्सनल बराबरीबाट चुक्यो ।
६६औं मिनेटमा इनक मिपाले गोल गर्दै ब्राइटनको अग्रता दोब्बर पारे । उनले मोइसेस काइसेडोको पासमा गोल गर्न सफल भएका पथए । ८९औं मिनेटमा मार्टिन ओडेगार्डले ग्रानिट झाँकाको पासमा गोल गर्दै खेललाई २–१ को अवस्थामा ल्याएपनि घरेलु टोलीको हार टार्न सकेन ।
यो जितसँग्र ब्राइटन ३१ खेलबाट ३७ अंक जोडेर ११औं स्थानमा उक्लिएको छ । पराजित आर्सनल ३० खेलबाट ५४ अंक जोडेर पाँचौ स्थानमा रहेको छ ।