पछि परेको अवस्थामा समेत बार्सिलोनाले खेल उल्ट्यायो, फेरी दोस्रो स्थानमा उक्लियो !

एजेन्सी – इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा परिवर्तित डच फरवार्ड लुक डि जोङले गोल गरेपछि क्याटलान क्लब बार्सिलोनाले घरेलु टोली लेभान्टेमाथि रोमाञ्चक पूनरागमन जित निकालेको छ । बार्सिलोनाले लेभान्टेलाई ३–२ ले पराजित गरेको हो ।

भ्यालेन्सियामा आइतबार राति भएको खेलमा बार्सिलोनाको जितमा लुक डि जोङसँगै पिएरे इमरिक औवामियाङ र पेड्रीले गोल गरे । घरेलु टोलीका जोस लुइस मोरालेस र गोन्जालो मेलेरोले गोल गरे । प्रतिस्पर्धात्मक खेलको सबै पाँच गोल दोस्रो हाफमा सम्भव भएको थियो ।

प्रतिस्पर्धात्मक खेलको ५२औ मिनेटमा जोस लुइस मोरालेसको गोलबाट बार्सिलोना खेलमा पछि परेको थियो । पेनाल्टी बक्समा ड्यानी आल्भेसले सनलाई फउल गरेपछि रेफ्रीले भिएआरको सहायता लिदै लेभान्टेलाई पेनाल्टी प्रदान गर्दा जोस लुइस मोरालेस चुकेनन् ।

लगत्तै ५६औं मिनेटमा लेभान्टेले अर्काे पेनाल्टी पाएपनि रोजरले गोल गर्न नसक्दा घरेलु टोली अग्रता दोब्बर पार्नबाट चुक्यो । एरिक गार्सियाले हेडरबाट आएको बललाई ह्यान्ड गर्न पुगेपछि रेफ्रीले लेभान्टेलाई पेनाल्टी प्रदान गरेको थियो । तर रोजरको पेनाल्टीलाई बार्सलोनाका गोलरक्षक मार्क आन्दर टेर स्टेगनले बचाए ।

५९औं मिनेटमा पिएरे इमरिक औवामियाङले औसमाने डेम्वेलेको पासमा गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । ६३औं मिनेटमा पेड्रीले पाब्लो गाभीको पासमा गोल गर्दै बार्सिलोनालाई २–१ को अग्रता दिलाए ।

८३औं मिनेटमा गोन्जालो मेलेरोले पेनाल्टीबाटै गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याए । ड्यानिल गोमेजलाई क्लेमेन्ट लेङ्लेटले फउल गर्न पुगेपछि रेफ्रीले घरेलु टोली लेभान्टेलाई खेलमा तेस्रो पेनाल्टी प्रदान गर्दा यसपटक मेलेरो चुकेनन् ।

बराबरीतर्फ धकेलिएको खेलको इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा परिवर्तित लुक डि जोङले गोल गर्दै बार्सिलोनालाई ३–२ को महत्वपूर्ण जित दिलाए । ८४औं मिनेटमा औवामियाङको स्थानमा मैदान छिरेका लुक डि जोङले जोर्डी अल्वाको पासमा गोल गर्न सफल भएका थिए ।

यो जितसँगै बार्सिलोना ३० खेलबाट ६० अंक जोडेर दोस्रो स्थानमा उक्लिएको छ । समान ३० अंक नै रहेपनि सेभिया गोल अन्तरमा पछि छ । पराजित लेभान्टे २२ अंक जोडेर १९औं स्थानमा रहेको छ ।

प्रकाशित : सोमबार, चैत २८, २०७८०९:२५

गठबन्धन माथि ओलीको एक पछि अर्को प्रहार !