एजेन्सी – म्यानचेस्टर सिटीका प्रशिक्षक पेप गार्डियोलाले आफू र लिभरपुल प्रशिक्षक योर्गेन क्लोप साथी नरहेको स्पष्ट पारेका छन्। आइतबार राति प्रिमियर लिगमा लिभरपुलसँग २-२ को बराबरी खेलेपछि पत्रकारहरुसँग कुराकानी गर्नेक्रममा गार्डियोलाले क्लोप आफ्नो साथी नरहेको बताएका हुन्।
क्लोप र गार्डियोला गएको पाँच वर्ष भन्दा बढी समय देखि प्रिमियर लिगमा एक अर्कालाई टक्कर दिरहेका छन्। तरपनि यी दुई एक एक अर्काको प्रशंसा गरिरहेका हुन्छन्।
प्रिमियर लिगको निर्णायक खेलमा भेट्नु अगाडी पनि यी दुई एक अर्काको प्रशंसामा उत्रिएका थिए। खेल पश्चात आफूले क्लोपको प्रशंसा गरेपनि आफूहरु साथी नभएको गार्डियोलाले स्पष्ट पारे।
पत्रकारहरुसँग कुराकानी गर्नेक्रममा गार्डियोलाले आफूहरु साथी नभएको मात्र स्पष्ट पारेनन्, क्लोपलाई सम्मान गर्ने पनि जानकारी गराए। क्लोपकै कारण आफू राम्रो प्रशिक्षक हुन सकेको गार्डियोलाको भनाई छ।
“म योर्गेन [क्लोप] लाई धेरै सम्मान गर्छु। उनकै कारण म राम्रो प्रशिक्षक हुन सकिरहेको छु। तर हामी साथी भने होइनौं। मसँग उनको नम्बर छ, तर म फोन गर्दिन। हामी सँगै खान खाँदैनौं। तर त्यहाँ सम्मान भने पक्कै छ।”,गार्डियोलाले भने।
आइतबार राति म्यानचेस्टर सिटी र लिभरपुलबीचको खेल बराबरीमा टुंगियो। दुवै टोलीले एक-अर्का विरुद्ध २-२ गोल गरे। सिटीका लागि कप्तान केभिन डि ब्रुयन र गाब्रियल जेससले गोल गर्दा लिभरपुलका डिएगो जोटा र साडियो मानेले गोल गरे ।