एजेन्सी – म्यानचेस्टर युनाइटेडका पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोले एभर्टन समर्थकको मोबाइल फुटाइदिएको विषयमा प्रहरीले छानबिन गर्ने भएको छ। विभिन्न बेलायती मिडियाहरुका अनुसार समर्थकको मोबाइल फुटाइदिएको विषयमा रोनाल्डो माथि प्रहरीले छानबिन गर्ने भएको हो।
सो सम्बन्धमा अनुसन्धान शुरु भइसकेको मर्सिसाइड प्रहरीले पुष्टि गरेको छ। मर्सिसाइड प्रहरीका अनुसार सो घटनाको सम्बन्धमा मर्सिसाइड प्रशासन जानकार छ र सो सम्बन्धमा अनुसन्धान शुरु भइसकेको छ। मर्सिसाइड प्रहरीले सो घटना बारे पिडित पक्ष र रोनाल्डो सबैसँग बयान लिने बताइन्छ।
“मर्सिसाइड पुलिसले पुष्टि गर्न सक्छ कि एभर्टन र म्यानचेस्टर युनाइटेड बीचको खेलमा म्यानचेस्टर युनाइटेडका खेलाडी संलग्न भएको घटना बारे अनुसन्धान शुरु भइसकेको छ। घटनामा संलग्न सबैसँग कुराकानी लिने र बयान लिने काम हुन्छ।”,एभर्टन म्याचडे पुलिस अफिसर्स ट्वीटर ह्यान्डलले जानकारी दिंदै भनेको छ।
रोनाल्डोले मागे माफी
म्यानचेस्टर युनाइटेडका पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोले माफी मागेका छन्। शनिबार साँझ एभर्टनविरूद्ध पराजित भएपछि एक समर्थकको फोन तोडेको भिडियो सार्वजनिक भएपछि रोनाल्डोले सामाजिक संजाल मार्फत माफी मागेका हुन्।
सामाजिक संजाल मार्फत माफी माग्दै रोनाल्डोले कठिन क्षणहरूमा भावनालाई नियन्त्रणमा राख्न असमर्थ भएको बताएका छन्। फुटबल मन पराउने युवाहरुका माझ उदाहरण बन्नुपर्ने भएपनि भावनालाई नियन्त्रणमा राख्न नसकेर त्यस्तो हुन पुगेको रोनाल्डोको संकेत छ।
“हामीले सामना गरिरहेको जस्तो कठिन क्षणहरूमा भावनाहरूसँग व्यवहार गर्न यो कहिल्यै सजिलो हुँदैन। यद्यपि, हामीले सधैं आदर, धैर्य र सुन्दर खेल मन पराउने सबै युवाहरूको लागि प्रेरणा बन्नुपर्छ।”,रोनाल्डोले सामाजिक संजालमा लेखेका छन्।
रोनाल्डोले आक्रोशको लागि माफी माग्दै फोन फुटेका समर्थकलाई ओल्ड ट्राफोर्डमा खेल हेर्न आमन्त्रित समेत गरेका छन्। उनले लेखेका छन्,”म मेरो आक्रोशको लागि माफी माग्न चाहन्छु र, यदि सम्भव छ भने, म यो समर्थकलाई निष्पक्ष खेल र खेलकुदको संकेतको रूपमा ओल्ड ट्राफोर्डमा खेल हेर्न आमन्त्रित गर्न चाहन्छु।”