एजेन्सी – च्याम्पियन्स लिगको क्वाटरफाइनलको दोस्रो लेगमा मंगलबार राति रियल म्याड्रिडले चेल्सीको आथित्यता गर्दैछ। सान्टियागो बर्नाबेउमा रियलले मंगलबार राति चेल्सीको स्वागत गर्न लागेको हो।
पहिलो लेगमा बेहोरेको हारको बदला लिने दाउमा चेल्सी हुँदा रियल भने घरेलु मैदानको फाइदा उठाउने योजनामा हुनेछ। पहिलो लेगमा रियलले चेल्सीलाई ३-१ को गोल अन्तरले पराजित गरेको थियो। त्यसबेला रियलका लागि बेन्जेमा एक्लैले तीन गोल गरेका थिए भने चेल्सीका लागि काई हाभर्टजले एक गोल गरेका थिए।
पहिलो लेगमा रियल चेल्सीले बलमा राम्रो नियन्त्रण राखेर पनि गोलमा चुकेको थियो। बलमा चेल्सीको ५८ प्रतिशत नियन्त्रण थियो। त्यस्तै पहिलो लेगमा चेल्सीले रियल भन्दा बढी प्रहार पनि गरेको थियो। खेलभर रियलले ८ प्रहार गर्दा चेल्सीले २० प्रहार गरेको थियो। तर चेल्सीका ५ प्रहार मात्र टार्गेटमा थिए। जस मध्ये एक प्रहार मात्रै गोलमा परिणत भयो।
रियलसँग पराजित भएपछि चेल्सीले प्रिमियर लिगमा बलियो जित दर्ता गरिसकेको छ। चेल्सीले शुक्रबार राति मात्रै साउथह्याम्प्टन विरुद्ध गोल वर्षा गरेको हो। सो खेलमा चेल्सीले ६ गोल गरेको थियो। सो लयलाई कायम राख्दै रियल म्याड्रिडको घरेलु मैदानमा जित निकाल्ने चेल्सीको योजना हुनेछ।
मंगलबार राति हुने खेलमा चेल्सीलाई गोल रहित बराबरीमा रोक्न मात्रै सकेपनि रियल च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गर्नेछ। तर चेल्सी भने रियललाई ३-० को गोल अन्तरले पराजित गरे मात्रै च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गर्नेछ। खेल नेपाली समय अनुसार मंगलबार राति १२ बजेर ४५ मिनेटमा शुरु हुनेछ। खेल भारतीय च्यानल सोनी टेन २ मा हेर्न सकिनेछ।

