भोट हाल्न पाउने व्यवस्थामा नयाँ नियम, नेपालमै पहिलो पटक अब यस्ता व्यक्तिले पनि भोट हाल्न पाउने !

काठमाडौं : स्थानीय निर्वाचनको अघिल्लो दिन वैशाख २९ मा १८ वर्ष उमेर पुग्ने २३ हजार ८ सय जनाले यसपटक मत खसाल्न पाउने भएका छन्। यो समाचार अन्नपुर्णपोस्ट दैनिकमा प्रकाशित छ।

यो व्यवस्था पहिलो पटक गरिएको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेल बताउँछन्। यसअघि निर्वाचन घोषणाअघि १८ वर्ष पूरा गरेकालाई मात्रै मताधिकार दिइन्थ्यो।

‘नेपालको निर्वाचन इतिहासमा पहिलो पटक निर्वाचन हुने दिनभन्दा अघिल्लो दिनलाई आधार मानी उमेर पुगेका मतदाताले मतदान गर्ने पाउने व्यवस्था गरेका छौं’, प्रवक्ता पौडेलले भने, ‘मतदाता नामावलीमा नाम समावेश भएका मतदाताले मतदान गर्न पाउने कानुनी व्यवस्था छ।’

पौडेलका अनुसार यसपटक वैशाख २९ गतेलाई १८ वर्ष उमेर पूरा गर्ने दिनलाई निर्दिष्ट मिति (कट अफ डेट) मान्दा १ करोड ७७ लाख ३३ हजार ७ सय २३ मतदाताले मताधिकार पाएका छन्।

यसमा पुरुष ८९ लाख ९२ हजार १०, महिला ८७ लाख ४१ हजार ५ सय ३० र अन्य १ सय ८३ जना छन्। अघिल्लो निर्वाचनभन्दा ३६ लाख ६१ हजार २ सय ९९ मतदाता थपिएका छन्।

छापियो ४५ लाख मतपत्र
आयोगका अनुसार २८ जिल्लाका लागि ४५ लाख २२ हजार मतपत्र छपाइ सकिएको छ। ३८ प्रकारका निर्वाचन सामग्रीमध्ये २८ प्रकारका प्राप्त भइसकेको जनाइएको छ। यी सामान आयोग परिसरमा भण्डारण गरिएको छ। सशस्त्र प्रहरी सुरक्षामा खटिएका छन्। वैशाख १५ पछि जिल्लामा ढुवानी गरिने सहप्रबक्ता सूर्यप्रसाद अर्यालले बताए।

सातै प्रदेशमा मिडिया अभिमुखीकरण
आयोगका अनुसार निर्वाचन आचारसंहिता कार्यान्वयन गर्न सातै प्रदेशमा चैत २९ गते मिडिया अभिमुखीकरण कार्यक्रम गरिने भएको छ। आचारसंहिता कार्यान्वयनबारे अनुगमन गर्ने जिम्मा प्रेस काउन्सिललाई दिइएको छ। वैशाख १ गतेदेखि स्थानीय तह निर्वाचन बुलेटिन प्रकाशन गरिने आयोगले जनाएको छ। १३ संघसंस्थाले भयमुक्त वातावरणमा निर्वाचन सम्पन्न गराउने सम्बन्धमा प्रतिबद्धता जनाएका छन्।

प्रकाशित : मङ्गलबार, चैत २९, २०७८०७:३६

व्यापार घाटा बढेको बढ्यै, कति पुग्यो ?