एजेन्सी – नर्वेली स्टार एर्लिङ हालाण्डलाई भित्र्याउन चाहने क्लबहरुको सूचीमा स्पेनिस महारथी रियल म्याड्रिड पनि छ। हालाण्डको अवस्थालाई रियल धेरै नजिकबाट नियालिरहेको छ।
हालाण्डले यस सिजनको अन्त्यमा बोरुसिया डर्टमन्ड छाड्ने तय भइसकेको छ। यससँगै रियल म्याड्रिड मात्र नभई युरोपका ठूला भनिएका धेरै जस्ता क्लबहरु हालाण्डलाई भित्र्याउने प्रयासमा जुटिसकेका छन्।
हालाण्ड भित्र्याउने दौडमा म्यानचेस्टर सिटी र रियल सबै भन्दा अगाडी देखिन्छन्। दुवै क्लबका अधिकारीहरुले हालाण्डका एजेन्टसँग कुराकानी गरिसकेको बताइन्छ। बेलायती मिडियाहरुको भनाईलाई मान्ने हो भने हालाण्डलाई भित्र्याउने दौडमा रियल भन्दा सिटी अगाडी देखिन्छ। हालाण्ड भित्र्याउने दौडबाट रियल बाहिरिसकेको बेलायती मिडियाहरु बताउँछन्।
तर स्पेनिस मिडियाहरु भने रियल हालाण्ड भित्र्याउने दौडमा अझै रहेको दावी गर्छन्। हालाण्डका पिता र एजेन्ट अझै रियल म्याड्रिडका अधिकारीहरुको सम्पर्कमा रहेको स्पेनिस मिडियाहरुको दावी छ।