एजेन्सी – बायर्न म्युनिख च्याम्पियन्स लिगको क्वार्टरफाइनलबाट बाहिरिएको छ। घरेलु मैदानमा भएको च्याम्पियन्स लिगको दोस्रो लेगमा स्पेनिस टोली भिल्लारियलसँग बुधबार १–१ को बराबरीमा रोकिएपछि पूर्व विजेता बायर्न प्रतियोगिताबाट बाहिरिएको हो।
भिल्लारियल समग्रमा २–१ को अग्रतासहित सेमिफाइनल पुगेको छ। पहिलो लेगमा भिल्लारियलले बायर्नलाई १–० ले हराएको थियो। सामु चुक्वेजेले खेल सकिन २ मिने बाँकी रहँदा बराबरी गोल गरेपछि भिल्लारियलको अन्तिम चारको यात्रा निश्चित भएको थियो। ५१ औं मिनेटमा रोर्बेट लेवान्डोवेस्कीको गोलमा बायर्नले घरेलु मैदानमा अग्रता बनाएको थियो।
खेलभर बलमा बढी नियन्त्रण राखेर पनि बायर्नले जित निकाल्न सकेन। बलमा बायर्नको ६८ प्रतिशत नियन्त्रण थियो। खेलभर बायर्नको तर्फबाट कुल २३ प्रहार भएका थिए। जस मध्ये ४ प्रहार टार्गेटमा थिए। त्यस्तै भिल्लारियलको तर्फबाट भने मात्रै ४ प्रहार भएका थिए।
त्यसमा मात्र एक प्रहार टार्गेटमा थियो र सो गोलमा परिणत पनि भयो। सेमिफाइनल अब भिल्लारियलको भेट बेन्फिका र लिभरपुल मध्ये एकसँग हुनेछ।