एजेन्सी – ब्राजिलका फुटबल लिजेन्ड रोनाल्डो नाजारियोले यस वर्षको बालोन डी’ओर रियल म्याड्रिडका करिम बेन्जेमाले जित्नु पर्ने बताएका छन्। हालसालै एक अन्तर्वार्ताका क्रममा रोनाल्डोले बेन्जेमा बालोन डी’ओरको हकदार रहेको बताएका हुन्।
स्काई स्पोर्ट इटालियाका अलेसेन्ड्रो डेल पिएरोसँग कुराकानी गर्नेक्रममा रोनाल्डोले बेन्जेमा बालोन डी’ओरको हकदार रहेको कुरा आफूले पहिला देखि नै बताउँदै आएको उल्लेख गरे। बेन्जेमाले बालोन डी’ओर जित्न पर्छ भन्दा आफूले आलोचना खेप्ने गरेको रोनाल्डोको भनाई छ।
“बेन्जेमा बालोन डी’ओरको हकदार छन्। मैले यसो भन्दै आएको कयौं वर्ष भैसक्यो। यसो भन्दा मेरो धेरै आलोचना भयो। तर बेन्जेमाले बालोन डी’ओर जित्नै पर्छ। उनी एक महान फरवार्ड हुन्।”,रोनाल्डोले भने।
क्रिस्टियानो रोनाल्डोले रियल छाडेपछि बेन्जेमा नै क्लबको मूख्य खेलाडीको रुपमा रहेका छन्। त्यसयता उनी निरन्तर उच्च प्रदर्शन गर्दै आएका छन्। जारी सिजनमा त बेन्जेमा झनै घातक फुटबल खेलिरहेका छन्।
बेन्जेमाको उच्च लयकै कारण रियल अहिले च्याम्पियन्स लिगको सेमिफाइनलमा छ। त्यस्तै रियल अहिले लालिगाको शिर्ष स्थानमा पनि छ। बेन्जेमाले जारी सिजनमा रियलका लागि कुल ३८ खेलमा ३८ गोल नै गरेका छन्। यस बीचमा उनले १३ असिस्ट दिसकेका छन्। च्याम्पियन्स लिगमा मात्रै बेन्जेमाले १२ गोल गरेका छन्।