लिभरपुललाई बेन्फिकाले बराबरीमै रोक्यो, तैपनि लिभरपुल सेमिफाइनलमा !

एजेन्सी – युइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको दोस्रो लेगमा बराबरीमा रोकिएपनि इंग्लिस क्लब लिभरपुल समग्रमा जित निकाल्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।

घरेलु मैदानमा पोर्चुगिज क्लब बेन्फिकासँग ३–३ गोलको बराबरीमा रोकिएपनि लिभपुलले समग्रमा ६–४ को जित निकाल्दै अन्तिम चारमा स्थान पक्का गरेको हो । पहिलो लेगमा लिभरपुलले ३–१ को अवे जित निकाल्न सफल भएको थियो ।

एनफिल्डमा बुधबार राति भएको खेलमा घरेलु टोलीका लागि ब्राजिली फरवार्ड रोबर्टाे फिर्मिनोले दुई तथा इब्राहिमा कोनाटले एक गोल गरे । बेन्फिकाका गोन्कालो रामोस, रोमन यारेमचुक र डार्विन नुनेजले गोल गरे । पहिलो लेगमा हार भोगेका कारण बेन्फिका अघिल्लो चरण पुग्नबाट वञ्चित रह्यो ।

खेलको २१औं मिनेटमा इब्राहिमा कोनाटको गोलबाट लिभरपुलले सुरुवाती अग्रता लिन सफल भएको थियो । उनले कोन्सटानटिनोस टिसिमिकासको पासमा गोल गर्न सफल भएका थिए । ३२औं मिनेटमा गोन्कालो रामोसले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए ।

५५औं मिनेटमा रोबर्टाे फिर्मिनोले गोल गर्दै लिभरपुललाई २–१ ले अघि बढाए । उनले डिएगो जोटाको पासमा गोल गर्न सफल भएका थिए । ६५औं मिनेटमा फिर्मिनोले कोन्सटानटिनोसको पासमा व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गरेपछि लिभरपुल ३–१ ले अघि बढ्यो ।

त्यसपछि बेन्फिकाले दुई गर्दै खेललाई ३–३ गोलको बराबरीमा ल्याएपनि अघिल्लो चरण पुग्न पर्याप्त रहेन । ७३औं मिनेटमा रोमन यारेमचुकले एलेक्स ग्रिमाल्डोको पासमा तथा ८२औं मिनेटमा डार्विन नुनेजले जोओ मारियोको पासमा गोल गर्न सफल भएका थिए ।

प्रकाशित : बिहिबार, बैशाख ०१, २०७९०७:०३

एट्लेटिकोलाई सिटीले पछि पार्यो, सेमिफाइनलको समीकरण पूरा !