एजेन्सी – दोस्रो लेगमा बराबरीमा रोकिएपनि इंग्लिस क्लब म्यानचेस्टर सिटी युइएफए च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गर्न सफल भएको छ ।
वान्डा मेट्रोपोलिटानोमा बुधबार राति भएको खेल गोलरहित बराबरीमा सकिएपनि घरेलु मैदानमा पहिलो लेगमा पाएको १–० को जितले नै सिटीले अन्तिम चारमा स्थान पक्का गरेको हो । सिटीले समग्रमा १–० को जित निकालेको हो ।
दोस्रो लेगमा सिटीले बल पोसेसन राख्दै दवाव बढाएपनि घरेलु टोलीको बलियो रक्षापङ्ति तोड्न सकेन । खेलको अन्त्यतिर घरेलु टोली १० खेलाडीमा समेटिएपनि त्यसको फाइदा सिटीले उठाउन सकेन ।
इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा फिलिपे दोहोरो पहेलो कार्ड खाँदै मैदानबाट बाहिरिदा घरेलु टोली १० खेलाडीमा समेटिन पुग्यो । त्यसपछि थप गोल निस्कन नसक्दा खेल गोलरहित बराबरीमा सकियो ।
योसँगै च्याम्पियन्स लिगको सेमिफाइनल समिकरण पुरा भएको छ । अब सेमिफाइनलमा लिभरपुल र भिल्लारियल तथा म्यानचेस्टर सिटी र रियल म्याड्रिडबीच प्रतिस्पर्धा हुनेछ । सेमिफाइनलको पहिलो लेग २६ अप्रिलमा र दोस्रो लेग ३ मेमा हुनेछ । फाइनल २८ मेमा हुनेछ ।

