एजेन्सी – म्यानचेस्टर सिटी र लिभरपुल दुवै यति बेला प्रिमियर लिग जित्ने दौडमा छन्। सिटी र लिभरपुल बीच मात्रै एक अंकको अन्तर छ। सिजनका ३१ खेल खेलिसक्दा सिटीको ७४ अंक छ भने लिभरपुलको ७३ अंक छ। जारी सिजनमा सिटीले तीन खेलमा हार बेहोर्दा लिभरपुलले मात्रै दुई खेल हारेको छ।
लिभरपुल प्रिमियर लिगमा गएको कयौं खेल देखि पराजित भएको छैन। लिभरपुल पछिल्लो पटक गत डिसेम्बरको अन्त्यमा पराजित भएको थियो। त्यसबेला लेस्टर सिटीले लिभरपुललाई १-० को गोल अन्तरले पराजित गरेको थियो। प्रिमियर लिगमा त्यसयता लिभरपुलले कुनै पनि खेलमा हारेको छैन।
त्यस्तै सिटी भने पछिल्लो पटक फेब्रुअरीमा टोटेनह्यामसँग पराजित भएको थियो। त्यसबेला टोटेनह्यामले सिटी विरुद्ध ३ गोल गर्दा सिटीले मात्रै दुई गोल गरेको थियो। त्यसयता सिटी प्रिमियर लिगमा पराजित भएको छैन।
केहि दिन अगाडी मात्रै लिभरपुल र सिटी आमने-सामने भए। सो खेलमा दुवै टोलीको तर्फबाट २-२ गोल भयो। प्रिमियर लिगमा निर्णायक हुन सक्ने सो खेल बराबरीमा टुंगिएसँगै अब बाँकी ७ खेलले प्रिमियर लिग उपाधिको टुंगो लगाउने छ।
सिटीले वुल्भ्स, ब्राइटन, वाटफोर्ड, लिड्स, न्यू क्यासल, वेस्टह्याम र एस्टन भिल्लासँग खेल्न बाँकी छ। त्यसमध्ये ४ खेल सिटीले घरेलु मैदानमा खेल्नेछ। त्यस्तै लिभरपुलले भने म्यानचेस्टर युनाइटेड, एभेर्टन, न्यू क्यासल, टोटेनह्याम, एस्टन भिल्ला, साउथह्यामटन र वुल्भ्ससँग खेल्न बाँकी छ। ती मध्ये ४ खेल लिभरपुलको घरेलु मैदानमा हुनेछन्।
दुवै टोलीलाई बाँकी रहेका सात खेल मध्ये कुनै पनि खेलमा हार्ने छुट हुने छैन। कुनै पनि खेल हारेको खण्डमा दुवै टोली उपाधि जित्ने अवसरबाट वन्चित हुन सक्नेछ।
बाँकी रहेका खेलको सूची हेर्दा लिभरपुलले सिटी भन्दा कठिन प्रतिद्वन्दीहरुसँग खेल्न बाँकी छ। लिभरपुलको उपाधि दौडमा युनाइटेड, टोटेनह्याम जस्ता क्लब बाधक बन्न सक्छन्। युनाइटेडबाट बढी खतरा नरहेपनि सिटीलाई पराजित गरेको टोटेनह्याम लिभरपुलका लागि टाउको दुखाई बन्न सक्छ।