‘सूर्य’ चिन्ह बिक्री भएको जस्तो लागेपछि कड्किए भीम रावल, ओलीलाई तेर्स्याए प्रश्नै प्रश्न !

काठमाडौँ – नेकपा एमालेका प्रभावशाली नेता भीम रावलले सूर्य चिन्ह बिक्री गरिएको हो भनेर प्रश्न गरेका छन्। आगामी स्थानीय निर्वाचनमा कमल थावा नेतृत्वको राप्रपा नेपाल र एकनाथ ढकाल नेतृत्वको परिवार दलले ‘सूर्य’ चिन्हको प्रयोग गर्ने भएसँगै नेता रावलले यस्तो प्रश्न गरेका हुन्।

आगामी स्थानीय निर्वाचनमा कमल थावा नेतृत्वको राप्रपा नेपाल र एकनाथ ढकाल नेतृत्वको परिवार दललाई ‘सूर्य’ चिन्ह प्रयोग गर्न दिने निर्णय एमालेले गरेसँगै एक ट्वीट गर्दै नेता रावलले विपरीत सिद्धान्त भएका राप्रपा र परिवार दललाई किन ‘सूर्य’ चिन्ह दिने भनेर प्रश्न गरेका छन्।

यस्तो निर्णय गरेर दलीय प्रणाली र कम्युनिष्ट पार्टीको फजिती मात्र गरिएको रावलको भनाई छ। त्यसक्रममा उनले ‘सूर्य’ चिन्ह अन्य पार्टीलाई प्रयोग गर्न दिने निर्णय ठूलो ठेकेदारले ठेक्का लिएर सानो ठेकेदारलाई काम दिएजस्तै भएको पनि बताएका छन्।

“विपरीत सिद्धान्त भएका राप्रपा र परिवार दलका उम्मेदवारले एमालेको सूर्य चिह्नमा लड्ने तर एमाले हुनु नपर्ने रे। के सूर्य चिह्न बिक्री हुने व्यावसायिक चिह्न हो र? यसलाई ठूलो ठेकेदारले ठेक्का लिएर सानो ठेकेदारलाई काम दिएजस्तो गर्न मिल्छ र? दलीय प्रणाली र कम्युनिस्ट पार्टीको फजिती मात्र।”,रावलले ट्वीटरमा लेखेका छन्।

आगामी स्थानीय निर्वाचनमा एक्लै लड्ने दावी गरिरहेको एमालेले विभिन्न स्थानमा राप्रपा नेपाल र परिवार दलसँग तालमेल गर्ने तयारी गरिरहेको छ। बुधबार मात्रै राप्रपा नेपाल र परिवार दलले वैशाख ३० हुने स्थानीय तहको निर्वाचनमा ‘सूर्य’ चिन्हको प्रयोग गर्ने सहमति गरेका छन्।

प्रकाशित : बिहिबार, बैशाख ०१, २०७९१६:५१

दुर्जनौं नेता तथा कार्यकर्ताले छाडे विप्लवको साथ, माओवादीमा प्रवेश !