गठबन्धनमा भन्दा बढी एमालेमा भद्रगोल !

काठमाडौं । सत्तारुढ पाँचदलीय गठबन्धनले चुनावी तालमेलका सात आधार तय गरेका छन् । यसका लागि आवश्यक तालमेल गर्न उनीहरुले संयुक्त र एक्लाएक्लै सर्कुलर समेत गरेका छन् । तर, स्थानीय कमिटीहरुले यसको पालाना गर्ने लक्षण देखाएका छैनन् । यो समाचार सौर्य दैनिकमा प्रकाशित छ।

नेपाली कांग्रेस पर्साका नेताहरुले जिल्लामा अरु दलसँग सहकार्य नगर्ने निर्णय गर्दै यस विषयमा केन्द्रलाई जानकारी गराएका छन् । सुरुमा पर्साका नेताहरु वीरगञ्ज महानगरपालिकाको मेयर नछाड्ने तर, अरु पालिकामा तालमेल गर्ने पक्षमा थिए ।

तर, गठबन्धनको शीर्ष तहमा सहमति खोज्दा वीरगञ्जको मेयर जनता समाजवादी पार्टी (जसपा) ले लिने सम्भावना देखेपछि कांग्रेस केन्द्रीय सदस्य रमेश रिजाल र अजय चौरसियाको सहभागितामा बैठक बसेर निर्णय ग¥यो, ‘गठबन्धन आवश्यक छैन ।’

अर्को महानगरपालिका भरतपुर (चितवन) का कांग्रेस नेताहरुले पनि यसअघि नै तालमेल नगर्ने निर्णय गरिसकेका छन् । काठमाडौंमा डेलिगेसन आएका नेताहरु भरतपुरको मेयर पद कांग्रेसले पाउनेमा आश्वस्त हुन नसकेपछि वडा सभापतिहरुले बैठक बसेर तालमेल नगर्ने मात्र होइन, गठबन्धन भए स्वतन्त्र उम्मेदवारी दिने निर्णय गरेका छन् ।

कास्कीका कांग्रेस नेताहरु पनि काठमाडौं आएर सभापति शेरबहादुर देउवालाई भेटी पोखरा महानगरको मेयर पद नछाड्न दबाव दिएर फर्किएका छन् । महानगरमामात्र होइन, थुप्रै गाउँ तथा नगरपालिकामा पनि कांग्रेस चुनावी तालमेलका लागि इच्छुक देखिएको छैन ।

सत्ता गठबन्धनमा उम्मेदवार छनोट गर्न भद्रगोल देखिएको छ भने प्रमुख प्रतिपक्ष एमालेभित्र त झन उम्मेदवार छनोटको बिषयमा महाभद्रगोलको अवस्था देखिएको छ । सो पार्टीले टिकट नदिएका कतिपय नेता तथा कार्यकर्ता त नेकपा एकीकृत समाजावादीमा प्रवेश गर्दै टिकट पक्का गर्न थालेका छन् ।

गठबन्धनमा धेरैवटा पार्टीबीच मिलाउनुपर्ने भएकोले समस्या देखिनु स्वभाविकै हो । तर, एक्लो पार्टी एमालेमा महाभद्रगोल देखिनु अस्वभाविक भएको राजनीतिक विश्लेषकहरु बताउछन् । एमालेले राप्रपा नेपाल र परिवार दलसँग मिलेर चुनाव लड््ने सहमति गरेपछि त्यसले उसको भोट बढाउने नभई घटाउनसक्ने एक नेताले बताए ।

प्रकाशित : शुक्रबार, बैशाख ०२, २०७९०८:०२

एमसिसी भन्दा ठूलो अनुदान दिने अमेरिकाको निर्णय ! कति ?