एजेन्सी – विश्व फुटबलको सर्वाेच्च निकाय (फिफा) ले फिफा विश्वकप कतार २०२२ को छनोट अन्तर्गत प्ले अफको युक्रेन र स्कटल्याण्डबीचको सेमिफाइनल खेलको मिति तय गरेको छ ।
रूसले युक्रेनमाथि आक्रमण गरेपछि रोकिएको खेल आगामी जुन १ मा हुने तय भएको फिफाले जनाएको छ । यसअघि नियमित तालिका अनुसार मार्च २४ हुने तालिका थियो । रुसबाट युद्वको सामना गरिरहेपछि खेल स्थगित गरिएको थियो ।
फिफाले यसअघि नै समूह विभाजन गरिसकेका कारण यो खेलको विजेताले आगामी जुन ४ मा वेल्ससँग खेल्नेछ । विजेताले कतार विश्वकपको समूह ‘बी’ मा इङ्ल्याण्ड, अमेरिका र इरानसँग रहनेछ ।
यसपछि एसियाली छनोटबाट अष्ट्रेलिया र युएईले जुन ७ मा खेल्नेछन् । यसको विजेताले जुन १३ मा दक्षिण अमेरिकाको पेरुसँग प्रतिस्पर्धा गर्नेछ । विजेता समूह ‘डी’ मा फ्रान्स, डेनमार्क र ट्युनिसियासँग रहनेछ ।
यस्तै १४ जुनमा हुने कोष्टारिका र न्युजिल्याण्डको विजेता विश्वकपमा छनोट हुने अन्तिम टोली हुनेछ । यसमा जित हात पार्ने टोली स्पेन, जर्मनी र जापानसँगै यो टोली समूह ‘ई’ मा रहनेछ ।
विश्वकपका लागि हालसम्म २९ टोलीको टुंगा लागिसकेको छ । फिफा विश्वकप नोभेम्बर २१ देखि डिसेम्बर १८ कतारको दोहामा हुँदैछ । यसअघिका विश्वकप समर सिजन अर्थात जुन जुलाईमा हुदै आएपनि पहिलोपटक विन्टर सिजनमा हुन लागेको हो ।

