एजेन्सी – ब्राजिलका लिजेण्ड र पूर्व ला लिगा फरवार्ड रिभाल्डो रियल म्याड्रिडका फ्रेन्च स्टार करिम बेन्जेमालाई यस वर्षको बालोन डी’ओरको मुख्य दाबेदार मान्छन्। उनका अनुसार यस वर्ष बेन्जेमाले बालोन ड’ओर जित्ने उच्च सम्भावना देखिन्छ।
एक अन्तर्वार्ताका क्रममा रिभाल्डोले रियल म्याड्रिड च्याम्पियन्स लिगको फाइनलमा पुगे बेन्जेमाले बालोन डी’ओर जित्ने दौडमा सबैलाई टक्कर दिने बताए। रियलले लालिगा जित्न सकेको खण्डमा र रियल च्याम्पियन्स लिगको फाइनल पुग्न सकेको खण्डमा बेन्जेमा बालोन डी’ओर दौडमा सबै भन्दा अगाडी हुने रिभाल्डोको भनाई छ।
“बेन्जेमा आफ्नो टोलीको जितमा फेरि महत्त्वपूर्ण ठहरिए। यदि क्लबले स्पेनिस लिगको उपाधि सुनिश्चित गर्न र च्याम्पियन्स लिगको फाइनलमा पुग्न सफल भयो भने बेन्जेमा पक्कै पनि बालोन डी’ओरको दौडमा अन्य खेलाडी भन्दा अगाडी हुनेछन्।”,रिभाल्डोले भने।
रिभाल्डोका अनुसार बेन्जेमा अहिले करियरकै उत्कृष्ट चरणमा छन्। बेन्जेमा करियरकै उच्च लयमा रहेको कुरा मैदानमा स्पष्टसँग देख्न सकिने रिभाल्डोले बताए। बेन्जेमाको खेल हेर्दा धेरै आनन्द मिलिरहेको उनको भनाई छ।
उनले भने,”बेन्जेमा एक महान खेलाडी हुन् जो आत्मविश्वासको हिसाबले उत्कृष्ट चरणबाट गुज्रिरहेका छन्। उनी उच्च लयमा रहेको मैदानमा स्पष्ट देखिन्छ। बेन्जेमाले यस्तो उच्च स्तरमा प्रदर्शन गरेको देख्दा रमाइलो लाग्छ।”
बेन्जेमामा जारी सिजनमा उच्च प्रदर्शन गरिरहेका छन्। जारी सिजनमा बेन्जेमामा रियलका लागि कुल ३८ खेल खेल्दा ३८ नै गोल गरेका छन्। त्यस्तै बेन्जेमाको नाममा १३ असिस्ट पनि छ।