काठमाडौं । स्थानीय तह निर्वाचन मिति नजिकिँदै जाँदा देशैभरि दुईपक्षीय प्रतिस्पर्धा गर्नेगरी दलहरू अगाडि बढेका छन् । सत्तापक्षीय र विपक्षी दुईवटा गठबन्धनमा मुलुक निर्वाचनमा अघि बढेको छ । केही दल भने यी दुवै गठबन्धनमा आबद्ध छैनन् । ती दल बहस र छलफलमै केन्द्रित छन् । यो समाचार राजधानी दैनिकमा प्रकाशित छ।
सत्तारूढ गठबन्धनको नेतृत्व नेपाली कांग्रेसले गरेको छ । सत्तारूढ गठबन्धनमा माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा र राष्ट्रिय जनमोर्चा छन् । उता संसद्को सबैभन्दा ठूलो दल एमाले नेतृत्वको विपक्षी गठबन्धनमा हालसम्म राप्रपा नेपाल र परिवार दलले सहभागिता जनाएका छन् ।
कमल थापा नेतृत्वको राप्रपा नेपाल र पूर्वमन्त्री एकनाथ ढकाल नेतृत्वको परिवार दल एमालेको सूर्य चिह्न लिएर चुनावी मैदानमा उत्रने तयारी गरिरहेका छन् । संसद्को सबैभन्दा सानो राष्ट्रिय दल लोसपा भने कुन गठबन्धनमा लाग्दा फाइदा हुन्छ भनेर हिसाबकिताब गरिरहेको अवस्था छ ।
नेमकिपा, जनमत पार्टी, राप्रपा, नेकपा, माले, जप्रपा, तमलोपा कुनै पनि गठबन्धनमा आबद्ध भइसकेको छैन । कतै नखुलेका यी दल अन्तिम समयसम्म आफ्नो अस्तित्व जोगाउन भए पनि गठबन्धनमा सहभागी हुने अनुमान गरिन थालिएको छ ।
वीरगन्जस्थित ठाकुरराम बहुमुखी क्याम्पसका प्राध्यापक तथा राजनीतिक विश्लेषक कुर्वान हवारी आगामी स्थानीय तह निर्वाचनमा देशैभरि दुई पक्षीय प्रतिस्पर्धा हुने निश्चित भएको बताउँछन् । ‘एकातर्फ सत्तारूढ दलहरू गठबन्धन नै बनाएर चुनावी मोर्चामा होमिएको अवस्था छ भने अर्कोतर्फ प्रतिपक्षी दलहरूको गठबन्धन पनि बनेको छ ।
केही साना दल यी दुवै गठबन्धनमा नभए पनि आफ्नो अस्तित्व रक्षाका लागि कुनै न कुनै गठबन्धनमा अनिवार्य रूपमा सहभागी हुने नै छन्,’ हवारी भन्छन् । लोसपा स्रोतका अनुसार पार्टी अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो दुवै गठबन्धनका शीर्ष नेताहरूसँग चुनावी तालमेल तथा सिट बाँडफाँटको छलफलमा छन् ।
एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवासँग ठाकुर र महतो समानान्तर रूपमा छलफल गरिरहेका छन् । जुन गठबन्धनमा आफूलाई बढी फाइदा हुन्छ सोही गठबन्धनमा सहभागी हुने रणनीति लोसपाको छ ।
लोसपाको तराई मधेसमा राम्रो प्रभाव रहेको छ । यस्तै, मधेसको नयाँ तर शक्तिशाली भनिएको डा. सिके राउत नेतृत्वको जनमत पार्टी कुनै पनि गठबन्धनमा सहभागी भइसकेको छैन । जनमत पार्टीसहित हृदयेश त्रिपाठी नेतृत्वको जनता प्रगतिशील पार्टी नेपाल (जप्रपा), वृशेषचन्द्र लाल नेतृत्वको तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा)लाई आफू नेतृत्वको गठबन्धनमा सहभागी गराउन एमाले अध्यक्ष ओली सक्रिय छन् ।
आन्तरिक रूपमा ओलीले अन्य साना कम्युनिस्ट पार्टीलाई समेत आफ्नो गठबन्धनमा सहभागी गराउन प्रयास जारी राखेका छन् । नारायणमान विजुक्छे नेतृत्वको नेपाल मजदुर किसान पार्टी, सिपी मैनाली नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (माले), नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीलगायतलाई आफू नेतृत्वको गठबन्धनमा सहभागी गराएर ओलीले सत्तारूढ गठबन्धनलाई चुनौती दिन खोजेका छन् ।