एक हप्तामै दोस्रो पटक भिड्दै सिटी र लिभरपुल ! खेल कुन च्यानलमा हेर्ने ?

एजेन्सी – प्रिमियर लिगको उपाधि दौडमा रहेका म्यानचेस्टर सिटी र लिभरपुल एक सातामै दोस्रो पटक आमने-सामने हुँदैछन्। गत शनिबार प्रिमियर लिग अन्तर्गतको खेलमा आमने-सामने भएका सिटी र लिभरपुल एफए कपको सेमिफाइनलमा भिड्न लागेका हुन्।

सिटी र लिभरपुल बीचको खेल नेपाली समय अनुसार रातको ८ बजेर १५ मिनेटमा शुरु हुनेछ। खेल वेम्ब्ले स्टेडियममा हुनेछ। वेम्ब्ले दुवै टोलीको घरेलु मैदान होइन। यस अगाडी फाइनल मात्रै वेम्ब्ले स्टेडियममा हुँदै आएपनि यस पटक भने सेमिफाइनल समेत वेम्ब्ले स्टेडियममा हुनेछ।

गत शनिबार प्रिमियर लिग अन्तर्गतको खेलमा यी दुई बीच भेट भएको थियो। त्यसबेला खेल बराबरीमा टुंगिएको थियो। सिटी र लिभरपुल दुवैको तर्फबाट २-२ गोल भएका थिए।

आज दुवै टोली जित निकाल्दै एफए कपको फाइनलमा प्रवेश गर्ने दाउमा हुनेछन्। जित्ने टोलीले एफए कपको फाइनलमा चेल्सी र क्रिस्टल प्यालेस बीचको विजेतासँग फाइनलमा खेल्नेछ।

लिभरपुल विरुद्ध सिटीका काइल वाकर र केभिन डे ब्रुइन नहुने उच्च सम्भावना छ। दुवै खेलाडी च्याम्पियन्स लिगको क्वाटरफाइनलको दोस्रो लेगमा सामान्य घाइते भएका थिए। त्यस्तै लिभरपुलका डिएगो जोटा पनि आज उपलब्ध नहुन सक्छन्। एफए कपको सेमिफाइनलमा सिटी र लिभरपुल आमने-सामने भएको भारतीय च्यानल सोनी टेन २ मा हेर्न सकिनेछ।

प्रकाशित : शनिबार, बैशाख ०३, २०७९०८:४९

चम्किए हालान्ड, डर्टमुन्डको आधा दर्जन गोल !