एजेन्सी – नर्वेजियन फरवार्ड एर्लिङ ब्राउट हालान्डले दुई गोलसँगै एक असिस्ट दिएपछि बोरुसिया डर्टमुन्डले सानदार जित निकालेको छ । घरेलु मैदानमा डर्टमुन्डले वल्फ्सवर्गमाथि ६–१ को फराकिलो जित निकालेको हो ।
घरेलु मैदान सिग्नल इडुना पार्कमा शनिबार राति भएको खेलमा डर्टमुन्डको फराकिलो जितमा हालान्डले दुई गोलसँगै टोम रोथे, एक्सेल विस्टेल, म्यानुयल एकान्जी र एम्री क्यानले समान एक गोल गरे । वल्फ्सवर्गका रिड्ले बाकुले एक गोल फर्काए । गोलको वर्षा भएको खेलमा डर्टमुन्डले पहिलो हाफमै ५–० को फराकिलो अग्रता बनाएको थियो ।
खेलको २४औं मिनेटमा टोम रोथेको गोलबाट डर्टमुन्डले सुरुवाती अग्रता लिएको थियो । उनले जुलियन ब्रान्ड्टको पासमा गोल गर्न सफल भएका थिए । २६औं मिनेटमा एक्सेल विस्टेलले हालान्डको पासमा गोल गर्दै डर्टमुन्डको अग्रता दोब्बर पारे ।
२८औं मिनेटमा म्यानुयल एकान्जीले कप्तान मार्काे रिउसको पासमा गोल गरेपछि डर्टमुन्ड खेलमा ३–० ले अघि बढ्यो । ३५औं मिनेटमा एम्री क्यानले मारिअस वल्फको पासमा गोल गरेपछि डर्टमुन्डले खेलमा ४–० को अग्रता लिन सफल भयो ।
३८औं मिनेटमा हालान्डले रिउसको पासमा गोल गर्दै डर्टमुन्डलाई पहिलो हाफमा ५–० को आरामदायी स्थितिमा ल्याए । ५४औं मिनेटमा हालान्डले जुलियन ब्रान्ड्टको पासमा व्यक्तिगत दोस्रो तथा टोलीका लागि पाँचौ गाल गर्दै डर्टमुन्डलाई ५–० ले अघि बढाए । ८१औं मिनेटमा रिड्ले बाकुले गोल गर्दै खेललाई ६–१ को स्थितिमा ल्याएपनि त्यसपछि थप गोल निस्कन नसक्दा डर्टमुन्ड विजयी हुन सफल भयो ।
यो जितसँगै दोस्रो स्थानमा रहेको डर्टमुन्डले शीर्षस्थानको बायर्न म्युनिखसँगको अंक दुरी ६ अंकमा झारेको छ । डर्टमुन्डको ३० खेलबाट ६३ अंक पुगेको छ । एक खेल कम खेलेको बायर्नको ६९ अंक छ । पराजित वल्फ्सवर्ग ३४ अंक जोडेर १३औं स्थानमा रहेको छ ।

