एजेन्सी – पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोको ह्याट्रिक सहयोगमा म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा जित निकालेको छ । घरेलु मैदानमा युनाइटेडले रेलिगेसन जोनमा रहेको नर्विच सिटीमाथि ३–२ को रोमाञ्चक जित निकालेको हो ।
ओल्ड ट्राफोर्डमा शनिबार राति भएको खेलमा एक समय युनाइटेडले २–० को आरामदायी अग्रता लिएपनि नर्विचले बराबरी गोल फर्काउदा खेल रोमाञ्चक मोडमा पुगेको थियो । त्यसपछि रोनाल्डोले ह्याट्रिक पुरा गर्दै युनाइटेडलाई महत्वपूर्ण ३ अंक दिलाए ।
खेलको सातौं मिनेटमा क्रिस्टियानो रोनाल्डोले गोल गर्दै युनाइटेडलाई सुरुवाती अग्रता दिलाए । उनले एन्थोनी इंलांगाको पासमा गोल गर्न सफल भएका थिए । ३२औं मिनेटमा रोनाल्डोले एलेक्स टेलासको पासमा व्यक्तिगत दोस्रो गोल गर्दै युनाइटेडको अग्रता दोब्बर पारे ।
पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा काइरन डोवेलले टिमु पुकीको पासमा गोल गर्दै खेललाई पहिलो हाफमा २–१ को स्थितिमा ल्याए । ५२औं मिनेटमा टिमु पुकीले काइरन डोवेलको पासमा गोल गर्दै खेललाई २–२ गोलको रोमाञ्चक मोडमा ल्याए ।
बराबरीतर्फ धकेलिएको खेलको ७६औं मिनेटमा रोनाल्डोले फ्रिकिकमा सानदार गोलसहित ह्याट्रिक पुरा गर्दै युनाइटेडलाई महत्वपूर्ण ३ अंक दिलाए ।
यो जितसँगै युनाइटेड ३२ खेलबाट ५४ अंक जोडेर पाँचौ स्थानमा उक्लिएको छ । पराजित नर्विच ३२ खेलबाट २१ अंक जोडेर रेलिगेसन जोनको पुछारमा रहेको छ ।

