एजेन्सी – इंग्लिस प्रिमियर लिगको शीर्ष चारको दौडमा रहेको आर्सनल र टोटेनह्याम हटस्परले हार बेहोरेका छन् । आर्सनलले साउथह्याम्टनसँग १–० हार भोगेको हो ।
सेन्ट मेरिज स्टेडियम साउथह्याम्टनमा शनिबार राति भएको खेलमा घरेलु टोलीको जितमा पहिलो हाफमा जान बेडेनारकले गरेको गोल नै निर्णायक बन्यो । उनले ४४औं मिनेटमा मोहम्मेद इलयुनोउसीको पासमा गोल गर्न सफल भएका थिए ।
एक गोलले पछि परेको आर्सनलले त्यसपछि बल पोसेसन राख्दै घरेलु टोलीलाई लगातार दवाव बढाएपनि गोल गर्न नसक्दा पराजित हुन पुग्यो ।
यो हारसँगै चौथो स्थानमा उक्लने मौका गुमाएको आर्सनल ३१ खेलबाट ५४ अंक जोडेर छैटौं स्थानमा झरेको छ । साउथह्याम्टन ३९ अंक जोडेर १२औं स्थानमा उक्लन सफल भएको छ ।
प्रिमियर लिगकै अर्काे खेलमा टोटेनह्याम घरेलु मैदानमै ब्राइटनसँग १–० ले पराजित भएको छ । बराबरीतर्फ धकेलिएको खेलको इन्ज्युरी समयमा लियान्द्रो ट्रोससार्डले गोल गर्दै टोटेनह्यामलाई स्तब्ध पारे ।
यो हारसँगै चौथो स्थानमा रहेको टोटेनह्यामले तेस्रो स्थानको चेल्सीसँगको अंक दुरी छोट्याउने अवसर गुमाएको छ । अर्काे खेलका आर्सनलको हारले पनि टोटेनह्यामलाई राहत मिल्यो । टोटेनह्याम ३२ खेलबाट ५७ अंक जोडेर चौथो स्थानमा रहेको छ । टोटेनहमलाई हराएको ब्राइटन ४० अंक जोडेर १०औं स्थानमा रहेको छ ।
रोनाल्डोको ह्याट्रिकमा म्यानचेस्टर युनाइटेडको रोमाञ्चक जित
पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोको ह्याट्रिक सहयोगमा म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा जित निकालेको छ । घरेलु मैदानमा युनाइटेडले रेलिगेसन जोनमा रहेको नर्विच सिटीमाथि ३–२ को रोमाञ्चक जित निकालेको हो ।
ओल्ड ट्राफोर्डमा शनिबार राति भएको खेलमा एक समय युनाइटेडले २–० को आरामदायी अग्रता लिएपनि नर्विचले बराबरी गोल फर्काउदा खेल रोमाञ्चक मोडमा पुगेको थियो । त्यसपछि रोनाल्डोले ह्याट्रिक पुरा गर्दै युनाइटेडलाई महत्वपूर्ण ३ अंक दिलाए । यो जितसँगै युनाइटेड ३२ खेलबाट ५४ अंक जोडेर पाँचौ स्थानमा उक्लिएको छ ।