काठमाडौं । प्रमुख सत्तारूढ दल नेपाली कांग्रेसभित्र चुनावी तालमेलको विषयले असन्तुष्टि बढ्दै गएको छ । कांग्रेसभित्र तालमेलको विषयले केन्द्रदेखि जिल्ला तह हुँदै स्थानीय तहसम्म असन्तुष्टि बढ्न थालेपछि सत्तारूढ दलका बीचमा हुने भनिएको चुनावी तालमेलमा पनि गडबडी देखिन थालेको छ । यो समाचार राजधानी दैनिकमा प्रकाशित छ।
पार्टी केन्द्रले सत्तारूढ पाँच दलबीच गरेको गठबन्धनको निर्णय जिल्ला तथा स्थानीय तहले नमान्ने भन्दै धमाधम निर्णय गर्न थालेपछि सत्तारूढ दलबीचमा हुने भनिएको तालमेल अन्योलमा पर्दै गएको हो । तालमेलबारे अहिले सबैभन्दा बढी असन्तुष्टि कांग्रेसको तल्लो तहसम्म पुगेको छ ।
कांग्रेसको शनिबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा समेत तालमेलको निर्णय केन्द्रबाट जबरर्जस्ती थोपर्न नहुने भन्दै पार्टी पदाधिकारीले नै असन्तुष्टि पोखेका हुन् ।
बैठकमा धारणा राख्दै महामन्त्री विश्वप्रकाश शर्माले २०७४ सालको स्थानीय तहको निर्वाचनमा भरतपुर महानगरमा कांग्रेसले माओवादीका उम्मेदवारलाई सघाएकाले अहिले माओवादीले कांग्रेसलाई सघाउनुपर्ने धारणा राखे ।
‘भरतपुर महानगरमा २०७४ को निर्वाचनमा कांग्रेसले माओवादी उम्मेदवारलाई मेयर छाडेको हो, हामी चाहन्छौं यसपटक माओवादीले कांग्रेसलाई छोडनुपर्छ, होइन भने स्थानीय नेताकार्यकर्तालाई निर्णय गर्न दिनुपर्छ र मित्रवत प्रतिस्पर्धा गर्नुपर्छ,’ महामन्त्री शर्माले बैठकमा भने ।
बैठकमा धारणा राख्दै अर्का एक पदाधिकारीले भने, ‘गठबन्धन आबद्ध शक्तिबीच आवश्यकताका आधारमा तालमेल गर्ने भनिएको हो, आवश्यक छैन भने पनि तालमेल गर्नै पर्ने भनिएको होइन, स्थानीय नेताकार्यकर्ताले एक्लै लड्ने भनेपछि तालमेल गर्नैपर्छ भन्ने हुँदैन, त्यो जिम्मा स्थानीय नेता कार्यकर्तालाई नै दिनुपर्छ ।’
कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा नेपाल र राष्ट्रिय जनमोर्चा आबद्ध पाँच दलीय गठबन्धनले स्थानीय तह निर्वाचनमा तालमेल गर्ने निर्णय नै गरिसकेका छन् ।
सो निर्णयविरुद्ध चितवन कांग्रेसमा भाँडभैलो नै सुरु भइसकेको छ । चितवनमा शनिबार भरतपुर महानगर १७ का क्रियाशील सदस्य र साधारण सदस्य गरी ५० जना कांग्रेस कार्यकर्ताले केन्द्रको निर्णय नमान्ने घोषणा गर्दै पार्टीबाट नै राजीनामाको घोषणा गरेका हुन् ।