काठमाडौं । एकीकृत नेकपा समाजवादीका अध्यक्ष माधव कुमार नेपालले सत्ता गठबन्धनका सहयात्री दल प्रति गुनासो गरेका छन् । स्थानीय निर्वाचन हुनु भन्दा झण्डै २७ दिन अगाडि उनले यस्तो गुनासो गरेका हुन् । यो समाचार सौर्य दैनिकमा प्रकाशित छ।
सार्वजनिक रुपमा यसरी आफ्नै सहयात्री दलप्रति नेपाले गुनासो गरेको यो पहिलो पटक हो । नेपालले आफ्नो पार्टीको शक्तिलाई अवमूल्यन नगर्न सत्ता गठबन्धनका अन्य दललाई चेतावनी दिएका छन् ।
नेकपा एकीकृत समाजावादीले हैसियतभन्दा बढी मागेको भनेर कांग्रेस र माओवादीले भनिरहेका बेला अध्यक्ष नेपालले आफूहरूमाथि अपमानपूर्ण व्यवहार नगर्न चेतावनी दिएका हुन् । नेपालले आफुहरु एकीकृत नेकपा समाजवादी भन्दा ठुलो भएको भनेर घमण्डले नफुल्न समेत कांग्रेस र माओवादीलाई चेतावनी दिएका छन् ।
नेकपा एसको सम्पर्क समन्वय कमिटीले शनिवार राजधानीमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले आफूहरूकै कारण केपी ओली सत्ताको सगरमाथाबाट भुईँमा पछारिएकोले कम नआँक्न चुनौती दिए । अध्यक्ष नेपालले भने– हाम्रो शक्तिको बारेमा विभिन्न पार्टीलाई अझै पनि भ्रम रहेछ । कता कता हामीमाथि अपमानपूर्ण व्यवहार गर्ने गरेको सुन्दै छु । आफ्नो शक्तिको अति मूल्याङ्कन र हाम्रो शक्तिको अवमूल्यन नगर्नुस् । हामीलाई अपमान गरेको हुनाले केपी ओलीलाई सत्ताको सगरमाथाबाट भुईँमा पछार्न निर्णायक भूमिका खेलेका छौ । ख्याल गर्नुस्,यो चेतना भया ।
नेपालले आफुहरुले एमालेबाट बिद्रोह गरेको छोटो अवधीमानै चुनावको सामना गर्नु परेको भएपनि आफुहरु पहिलो शक्ति भएर उदाउने दावी गरे। अध्यक्ष नेपालले एक वर्ष पूरा गर्न पाएको भए आफ्नो पार्टीको वास्तविक शक्ति देखिने थियो भन्दै चुनाव चाँडो भए पनि आफूहरू मुख्य शक्ति रहने बताए । नेपालले निर्धारित मितिमै स्थानीय तहको निर्वाचन हुने भएकाले आपनो पार्टी अन्य दलसँग सहकार्य नभए पनि एक्लै भिड्न तयार रहेको बताएका छन् ।