वैशाखमै यत्रो गर्मी, काठमाडौँमा सन् १९९९ पछिकै उच्च तापक्रम ! कुन स्थानमा कति ?

काठमाडौँ – गत वर्षहरु भन्दा यस वर्ष देशभर बढी गर्मी हुने संकेत देखिएको छ। वर्षको शुरुवातमै देशभरको तापक्रम ह्वात्तै बढेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार गत वर्षहरुमा वैशाख महिनामा काठमाडौं उपत्यकाको अधिकतम तापक्रम औसत मात्रा २८ दशमलव २ डिग्री सेल्सियस हुने गर्थ्यो।

तर वैशाखको शुरुवातमै उपत्यकाको तापक्रम ३२ डिग्री सेल्सियस पुगिसकेको छ। वैशाखमै यति धेरै गर्मी भएको धेरै समय पछि हो। महाशाखाले दिएको अनुसार उपत्यकाको अधिकतम तापक्रम ३२ डिग्री सेल्सियस पुगिसकेको छ भने आउने दिनहरुमा यो अझै बढ्न सक्छ।

यो वैशाख महिनामा रेकर्ड भएको सन् १९९९ यताकै उच्च तापक्रम हो। त्यसबेला काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम ३५ दशमलव ६ डिग्री सेल्सियस सम्म रेकर्ड भएको थियो। आउने केहि दिन वर्षा नभए तापक्रम अझै बढ्न सक्ने बताइन्छ।

कहाँ कति छ तापक्रम ?

महाशाखाका अनुसार सबै भन्दा धेरै तापक्रम भैरहवामा रेकर्ड भएको छ। भैरहवामा अधिकतम तापक्रम ४१ दशमलव २ डिग्री सेल्सियस सम्म पुगेको छ। भैरहवा पछि सबै भन्दा बढी तापक्रम जनकपुर र सिमरामा रेकर्ड भएको छ। दुवै स्थानमा अधिकतम तापक्रम ३८ दशमलव ८ डिग्री सेल्सियस सम्म रेकर्ड भएको छ।

त्यस्तै दिपायलमा ३६ दशमलव ८ डिग्री सेल्सियस, नेपालगञ्जमा ३८ दशमलव ५ डिग्री सेल्सिय, पोखरामा ३१ दशमलव ८ डिग्री सेल्सियस, विराटनगरमा ३६ दशमलव २ डिग्री सेल्सियस सम्म तापक्रम पुगेको छ।

धरानको अधिकतम तापक्रम ३६ दशमलव २ डिग्री सेल्सियस, जिरीको अधिकतम तापक्रम २६ दशमलव २ डिग्री सेल्सियस पुगेको महाशाखाले जनाएको छ। देशका मूख्य शहरमा रेकर्ड भएको तापक्रमको विवरण निम्न छ।

श्रोत: जल तथा मौसम पूर्वानुमान महाशाखा

प्रकाशित : आइतबार, बैशाख ०४, २०७९१३:२०

नयाँ वर्षको पहिलो कारोबारमै नेप्सेमा पहिरो !