एजेन्सी – जर्मन क्लब बोरुसिया डर्टमण्डका एक अधिकारीले नर्वेजियन स्ट्राइकर एर्लिङ हालाण्ड प्रिमियर लिग क्लब म्यानचेस्टर सिटी जान सहमत भइसकेको कुरालाई अस्विकार गरेका छन्। डर्टमण्डको पहिलो टोली फुटबलका प्रमुख सेबास्टियन केहलले हालाण्ड सिटी जान सहमत भइसकेको भन्दै आएका खबरहरुलाई खारेज गरेका हुन्।
एक मिडियासँग कुराकानी गर्नेक्रममा हालाण्डले कहाँ जाने भनेर निर्णय नगरिसकेको र कुनै पनि क्लबसँग सहमत भइनसकेको स्पष्ट पारे। स्काई स्पोर्ट्स जर्मनीले गरेको प्रश्नमा कुनै पनि क्लबले हालाण्डको रिलिज क्लज तिर्ने भनेर आफूहरुलाई सम्पर्क नगरेको बताए।
डर्टमण्डमा हालाण्डको सम्झौता सन् २०२४ सम्मका लागि छ। डर्टमण्ड पुगेयता निरन्तर उच्च प्रदर्शन गरिरहेका उनलाई धेरै क्लबहरुले भित्र्याउन चाहेका छन्। हालाण्डलाई भित्र्याउन चाहने क्लबहरुले रिलिज क्लज अनुसार ७५ मिलियन युरो डर्टमण्डलाई तिर्नुपर्ने हुन्छ।
गएको केहि समय देखि विभिन्न क्लबहरुले हालाण्डका एजेन्टहरुसँग कुराकानी अगाडी बढाएको खबर आइरहेका छन्। पछिल्ला खबरहरुका अनुसार म्यानचेस्टर सिटी हालाण्ड भित्र्याउने दौडमा सबै भन्दा अगाडी देखिएको छ।
केहि मिडियाहरुले त सिटी र हालाण्ड बीच एक प्रकारको सहमति पनि भइसकेको दावी गरिरहेका छन्। तर सेबास्टियन केहलका अनुसार भने त्यस्तो कुनै पनि सहमति भएको क्लबलाई थाहा छैन।