काठमाडौँ महानगरमा कांग्रेस गठबन्धनबाट आउट, एक्लै चुनाव लड्ने घोषणा !

काठमाडौं । नेपाली कांग्रेसको काठमाडौं महानगर कार्यसमिति पनि चुनावी तालमेलको विपक्षमा उभिएको छ । पार्टी केन्द्रले देशभरका स्थानीय तहमा गठबन्धन आबद्ध दलहरूबीच चुनावी तालमेल गर्ने निर्णय गर्दै गर्दा आइतबार बसेको महानगर कार्यसमितिको बैठकले भने एक्लै मैदानमा उत्रिने निर्णय गरेको हो । यो समाचार राजधानी दैनिकमा प्रकाशित छ।

महानगर कार्यसमितिका सचिव सुसन वैद्यले कार्यसमितिमा रहेका १ सय ६२ सदस्यमध्ये ३६ जनाले आइतबारको बैठकमा धारणा राखेको र धारणा राख्ने सबैको मत तालमेलको विपक्षमा रहेको जानकारी दिए ।

‘आफ्नै दलभित्र तालमेल छैन, पार्टीभित्रको गुटलाई मिलाउन सकस परिरहेको छ, पहिले पार्टीभित्रै एकता कायम गरेर चुनावमा जानुपर्छ, अरू दलसँग कुनै हालतमा चुनावी तालमेल गर्नुहुँदैन भन्ने धारणा बैठकमा आएको छ, तालमेल गरेर जाने हो भने कांग्रेसको जनआधार नै सकिन्छ भन्ने अधिकांशको मत छ,’ काठमाडौं महानगर कांग्रेसका सचिव वैद्यले राजधानीसँग भने ।

वैद्यले काठमाडौं महानगरमा कांग्रेसको जित सुनिश्चित रहेको भन्दै कांग्रेसभित्र आन्तरिक रूपमा नै एकता गरेर अघि बढ्नुपर्ने विषयमा सबै एकमत रहेको जानकारी दिए ।

काठमाडौं महानगरमा यसअघि २०७४ सालमा भएको स्थानीय तह निर्वाचनमा नेकपा एमालेका उम्मेद्वार विद्यासुन्दर शाक्य विजयी भएका थिए । त्यसबखत काठमाडौं महानगरमा एमाले र राप्रपाबीच तालमेल भएको थियो । ती दुई दलबीच तालमेल हुँदासमेत कांग्रेसले राप्रपाका उपमेयरलाई हराउँदै आफ्नो तर्फबाट उम्मेदवार बनेकी हरिप्रभा खड्गीलाई विजयी गराएको थियो ।

सो निर्वाचनमा पाएको मतलाई आधार मानेर कांग्रेस महानगर कार्यसमिति यसपटक तालमेलबिना नै चुनावी मैदानमा होमिने तयारीमा छ । महानगर कांग्रेसले काठमाडौंमा पहिलेभन्दा यसपटक कांग्रेसको मत बढेकोसमेत दाबी गरेको छ ।

वैद्यका अनुसार बैठकले महानगरपालिकाको प्रमुख र उपप्रमुखको नाम सिफारिस गर्ने जिम्मा पदाधिकारीलाई दिएको छ । यस्तै, अन्य पदका आकांक्षीको नाम प्रमुख र उपप्रमुख तय भएपछि गर्ने निर्णय गरिएको छ ।

काठमाडौं महानगरको प्रमुखका लागि महानगर समितिका सभापति नीलकाजी शाक्यसहित हालकी पुराना नेता तीर्थराम डंगोल, हालकी उपमेयर हरिप्रभा खड्गी श्रेष्ठ, प्रगतिमान रञ्जित, सचिव सुशन वैद्य, सिर्जना सिंहलगायत आकांक्षी छन् ।

कांग्रेस विधानअनुसार प्रमुख पदको उम्मेदवारका लागि एक महिलासहित तीन जना र उपप्रमुख पदमा एक महिलासहित दुई जनाको नाम नगर कार्यसमितिले माथिल्लो निकायमा सिफारिस गर्नुपर्ने व्यवस्था छ ।

निर्वाचन आयोगले ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनका लागि उम्मेद्वारको मनोनयनपत्र दर्ता भने ११ र १२ वैशाखका लागि तय गरेको छ ।

प्रकाशित : सोमबार, बैशाख ०५, २०७९०८:१९

गठबन्धनबाट टाढिँदै जसपा, फकाउने प्रचण्डको दाउ !