एजेन्सी – बायर्न म्युनिखका सीईओ ओलिभर कानले बायर्न बोरुसिया डर्टमण्डका स्ट्राइकर एर्लिङ हालाण्ड भित्र्याउने दौडबाट बाहिर रहेको पुष्टि गरेका छन्। एक अन्तर्वार्ताका क्रममा कानले हालाण्ड भित्र्याउने पक्षमा नरहेको पुष्टि गरेका हुन्।
हालाण्ड भित्र्याउन बायर्नले के कस्तो तयारी गरिरहेको छ भन्ने प्रश्न गरिँदा कानले हालाण्ड बायर्नको पहुँच भन्दा बाहिर रहेको बताए। हालाण्ड उत्कृष्ट स्ट्राइकर रहेपनि बायर्न हालाण्डलाई भित्र्याउन नचाहने कानले स्पष्ट पारे।
“हालाण्डले डर्टमण्डमा आफ्नो स्तरको प्रदर्शन देखिरहेका छन्। उनी निसन्देह उत्कृष्ट स्ट्राइकर हुन् र भविष्यमा उनी झनै रोचक हुन सक्छन्। तर हालाण्ड प्याकेज हामीले कल्पना गरेको भन्दा धेरै टाढा छ।”,कानले भने।
हालाण्डले आउने ट्रान्सफर विन्डोमा डर्टमण्ड छाड्दै छन्। हालाण्डले डर्टमण्ड छाड्न लागेको थाहा हुन आएसँगै उनलाई भित्र्याउने दौडमा युरोपका ठूला ठूला क्लबहरु अगाडी आएका छन्।
हालाण्डलाई भित्र्याउने दौडमा रियल म्याड्रिड, बार्सिलोना, म्यानचेस्टर सिटी, पेरिस सेन्ट जर्मेन(पिएसजी) रहेका छन्। यी मध्ये एक क्लबमा हालाण्ड जान सक्ने उच्च सम्भावना पनि देखिन्छ।
हालाण्डलाई भित्र्याउन चाहने क्लबले रिलिज क्लजवापतको ७५ मिलियन युरोप तिर्नुपर्ने हुन्छ। हालाण्डका लागि सो रकन तिर्न लगभग सबै क्लब तयार छन्।