एजेन्सी – पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डो जारी सिजनमा त्यति राम्रो प्रदर्शन गर्न नसकेपनि म्यानचेस्टर युनाइटेडको सर्वाधिक गोल कर्ता हुन्। जारी सिजनमा रोनाल्डोले जति युनाइटेडका कुनै पनि खेलाडीले गोल गर्न सकेका छैनन्।
युनाइटेड गएयता रोनाल्डोले कुल ३४ खेल खेलेका छन्। अहिले सम्म रोनाल्डोले युनाइटेडका लागि २१ गोल गरिसकेका छन्। रोनाल्डोको नाममा ३ असिस्ट पनि छ। नर्विच सिटी विरुद्धको खेलमा ह्याट्रिक गरेपछि रोनाल्डो लगातार १६ सिजनमा २० भन्दा बढी गोल गर्ने खेलाडी पनि बने।
त्यस्तै सो ह्याट्रिकसँगै रोनाल्डो प्रिमियर लिगको गोलकर्ताको सूचीमा तेस्रो स्थानमा उक्लिएका छन्। रोनाल्डोले प्रिमियर लिगको जारी सिजनमा १५ गोल गरिसकेका छन्। सिजनका ६ खेल बाँकी रहेको अवस्थामा तेस्रो स्थानमा उक्लिएसँगै रोनाल्डो प्रिमियर लिगको गोल्डेन बुट दौडमा पनि जोडिन पुगेका छन्।
प्रिमियर लिगमा सन ह्युङ मिन र मोहम्मद सल्लाहले मात्र रोनाल्डो भन्दा बढी गोल गरेका छन्। टोटेनह्यामका सनले अहिले सम्म १७ गोल गरेका छन् भने सलाहले २०। युनाइटेडले प्रिमियर लिगमा अझै ६ खेल खेल्न बाँकी रहेका कारण रोनाल्डोले प्रिमियर लिगको गोल्डेन बुट जित्ने सम्भावना अझै बाँकी छ।
गोल्डेन बुट जित्नको लागि उनले अब निरन्तर गोल गर्नुपर्नेछ। प्रिमियर लिगका सर्वाधिक गोलकर्ता रहेला सलाह पछिल्लो समय त्यति राम्रो प्रदर्शन गर्न सकिरहेका छैनन्। जसको फाइदा रोनाल्डोले उठाउन सक्छन्।