काठमाडौँ – अस्पतालबाट भागेका एक थुनुवालाई प्रहरीले पक्राउ गरेको छ। थुनामा हुँदा बिरामी भएको भन्दै उपचारका लागि अस्पतालमा पुर्याएकोमा अस्पतालबाटै फरार भएका व्यक्तिलाई प्रहरीले पक्राउ गरेको हो।
पक्राउ पर्नेमा सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका घर भएका भक्त बहादुर कामीका २५ वर्षिय छोरा राजेश तिरुवा रहेका छन्। काठमाडौँको वीर अस्पतालबाट भागेका उनलाई सोमबार पक्राउ गरिएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी परिसर काठमाण्डौले दिएको जानकारी अनुसार तिरुवा गत चैत २९ गते देखि फरार थिए। प्यारालाइसिस भएको भन्ने बहाना बनाएका तिरुवालाई उपचारका लागि वीर अस्पताल पुर्याएकोमा उनी त्यहाँबाट चैत २९ गते रातको साढे ८ बजे फरार भएको जिल्ला प्रहरी परिसर काठमाण्डौले जनाएको छ।
अस्पतालबाटै फरार भएपछि प्रहरीले अनुसन्धान शुरु गरेको थियो। राजेश तिरुवाको पहिचान तथा खोज तलास जारी राख्दा उनी बुढानीलकण्ठ स्थित राधाकृष्ण मन्दिर नजिक फेला परे। फेला पर्ने बितिकै उनलाई पक्राउ गरेर थप अनुसन्धान तथा आवश्यक कारबाहीको लागि श्री केन्द्रीय कारागार जगन्नाथ देवल काठमाण्डौ पठाइएको छ।