एजेन्सी – बार्सिलोनाका टार्गेट फ्लोरियन विर्ट्जले लियोनेल मेस्सी आफ्नो ‘आइडोल’ भएको बताएका छन्। एक मिडियासँग कुराकानी गर्नेक्रममा जर्मन क्लब बायर लेभरकुसेनका आक्रमणकारी मिडफिल्डर समेत रहेका युवा खेलाडी विर्ट्जले मेस्सीलाई आफ्नो ‘आइडोल’ रहेको बताएका हुन्।
अन्तर्वार्ताका क्रममा विर्ट्जले मेस्सी जस्तो कसैले पनि खेल्न नसकने बताए। हुर्कंदै गर्दा आफू मेस्सीलाई हेर्दै हुर्किएको र मेस्सी जस्तै बन्ने सपना सहित अगाडी बढेको उनको भनाई छ। उनले आफ्नो कोठामा केहि खेलाडीहरुको तस्विर रहेको र त्यसमध्येमा मेस्सी पनि रहेको बताए।
“मसँग मेरो कोठामा केही पोस्टरहरू मात्रै थिए। त्यसमा मेस्सी पनि पर्छन्। मेस्सी सँग-सँगै उस्माने डेम्बेले र औबामेयाङको तस्विर मेरो कोठामा थिए। मेरो पहिलो जर्सी पनि मेस्सीको अर्जेन्टिनाको जर्सी थियो। म सानो छँदा मेस्सी नै उत्कृष्ट खेलाडी थिए। मैले मेस्सीक भिडियो हेरेर धेरै सिकेको छु।”,विर्ट्जले भने।
विर्ट्जका अनुसार मेस्सी जस्तो राम्रो बन्ने आफ्नो चाहना छ। समय बित्दै जाँदा आफूले फरक शैली विकास गरेको भएपनि मेस्सी जहिले पनि आफूलाई मन पर्ने विर्ट्जले बताए।
उनले भने,”म मेस्सी जस्तै राम्रो हुन चाहन्थें। निस्सन्देह, मैले यस बीचमा आफ्नै शैली विकास गरेको छु। तर मेस्सी जस्तो कसैले पनि खेल्न सक्दैन। उनको खेल्ने आफ्नै तरिका छ। म विशेष रूपमा हेर्छु कि उनले कठिन परिस्थितिहरू कसरी समाधान गर्छन्।”
विर्ट्ज जारी सिजनमा उच्च लयमा छन्। लेभरकुसेनका लागि ३१ खेल खेल्दा उनले १० गोल गरिसकेका छन्। उनको नाममा १४ असिस्ट पनि छ। विर्ट्ज अहिले युरोपका धेरै क्लबको नजरमा छन्। क्याटलान क्लबले पनि उनलाई भित्र्याउन चाहेको छ।