एजेन्सी – प्रिमियर लिग क्लब लिभरपुलका मोहम्मद सलाहले एक नयाँ रेकर्ड बनाएका छन्। मंगलबार राति म्यानचेस्टर युनाइटेड विरुद्धको खेलमा दुई गोल गरेसँगै सलाहले नयाँ रेकर्ड बनाएका हुन्।
घरेलु मैदान एनफिल्डमा भएको खेलमा सलाहले दुई गोल गरेका थिए भने एक असिस्ट पनि दिएका थिए। पाँचौ मिनेटमा लुइस डियाजका लागि असिस्ट दिएका सलाहले २२औं मिनेट र ८५औं मिनेटमा सलाहले गोल गरेका थिए।
२२औं मिनेटमा मोहम्मद सलाहले साडियो मानेको पासमा गोल गरेका थिए भने ८५औं मिनेटमा डिएगो जोटाको पासमा दोस्रो गोल गरेका थिए। दोस्रो गोल गरेसँगै सलाह युनाइटेड विरुद्ध एकै सिजनमा पाँच गोल गर्ने पहिलो खेलाडी बने।
सलाहले यस अगाडी अक्टोबरमा युनाइटेडको घरेलु मैदानमा भएको खेलमा ह्याट्रिक नै गरेका थिए। त्यस्तै सलाह एकै सिजनका दुवै खेलमा युनाइटेड विरुद्ध गोल गर्ने र असिस्ट दिने दोस्रो खेलाडी पनि बनेका छन्।
सलाहको गोल संख्या
जारी सिजनमा सलाह उच्च लयमा छन्। गएको केहि समय देखि कम गोल गरिरहेपनि उनी प्रिमियर लिगको शिर्ष गोल कर्ता रहेका छन्। प्रिमियर लिगमा उनले ३० खेल खेल्दा २२ गोल गरिसकेका छन्। त्यस्तै उनको नाममा १२ असिस्ट पनि छ। समग्रमा उनले लिभरपुलका लागि जारी सिजनमा ३० गोल गरेका छन्।