एजेन्सी – फ्रेन्च पत्रकारहरुको भनाईलाई मान्ने हो भने फ्रेन्च युवा स्टार किलियन एम्बाप्पे रियल म्याड्रिड जाने निर्णयमा पुनर्विचार गर्ने मनस्थितिमा छन्। विभिन्न फ्रेन्च मिडिया र पत्रकारहरुले एम्बाप्पे रियल जाने निर्णयमा पुनर्विचार गर्ने पक्षमा रहेको दावी गरेका हुन्।
एम्बाप्पे र पिएसजी बीचको सम्झौता यहि सिजनको अन्त्यमा सकिँदैछ। पिएसजीले एम्बाप्पेलाई गएको दुई वर्ष भन्दा बढी समय देखि नयाँ सम्झौताका लागि प्रस्ताव गरिरहेको छ। तर एम्बाप्पेले पिएसजीसँग अर्को सम्झौता गर्न मानिरहेका छैनन्।
पिएसजीसँगको सम्झौता सकिनै लाग्दा उनी रियल म्याड्रिड जाने पक्का-पक्की जस्तै भएको चर्चा चलिरहेको छ। केहि मिडियाहरुले त रियल जान एम्बाप्पेले मौखिक सहमति जनाइसकेको रिपोर्टहरु पनि सार्वजनिक गरिरहेका छन्।
तर एम्बाप्पेको तर्फबाट भने यस सम्बन्धमा केहि पनि जवाफ आएको छैन। एम्बाप्पेले आफू हालका लागि पिएसजीमै केन्द्रित रहेको बताउने गरेका छन्। एम्बाप्पेले रियल जान मौखिक सहमति जनाइसकेको भएपनि उनले पूरा निर्णय भने गरिनसकेको फ्रेन्च मिडियाहरुको दावी छ।
फेरिएको परिस्थितिमा एम्बाप्पे पिएसजीमा रहन सक्ने बताइन्छ। रियल जाने मौखिक सहमतिबाट एम्बाप्पे ब्याक हुन सक्ने आधारहरु देखिन थालेको फ्रेन्च मिडियाहरु बताउँछन्। पिएसजीलाई च्याम्पियन्स लिग दिलाउने एम्बाप्पेको ठूलो सपना छ। सो सपना पूरा गर्न एम्बाप्पे कम्तिमा एक सिजन पिएसजीमा रहन सक्ने फ्रेन्च मिडियाहरु आशा गरिरहेका छन्।

