एजेन्सी – फ्रेन्च लिग वानको उपाधितर्फ उन्मुख रहेको पेरिस सेन्ट जर्मेन (पिएसजी) ले सहज जित निकाल्दै उपाधि होडलाई थप मजवुत बनाएको छ ।
पिएसजीले घरेलु टोली एन्जर्सलाई ३–० ले पराजित गर्दै उपाधि यात्रालाई थप मजवुत बनाएको हो । पिएसजीको सहज जितमा केलियन एमबाप्पे, सर्जियो रामोस र मार्किन्हसले गोल गरे । स्टेड रेमन्ड कोपा एन्जर्समा बुधबार राति भएको खेलको २८औं मिनेटमा केलियन एमबाप्पेको गोलबाट पिएसजीले सुरुवाती अग्रता लिन सफल भयो । उनले अचरफ हाकिमीको पासमा गोल गर्न सफल भएका थिए ।
पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा सर्जियो रामोसले एन्जल डि मारियाको पासमा गोल गर्दै पिएसजीको अग्रता दोब्बर पारे । ७७औं मिनेटमा डि मारियाकै पासमा कप्तान मार्किन्हसले गोल गर्दै पिएसजीको सहज जित पक्का गरे ।
इन्ज्युरी समयमा पिएसजी १० खेलाडीमा समेटिएपनि त्यसको प्रभाव खेलमा परेन । ७१औं मिनेटमा एरिक इविम्वेको स्थानमा मैदान छिरेका इडुआर्ड मिचुट इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा सिधै रातो कार्ड खाँदै मैदानबाट बाहिरिएका थिए ।
एन्जर्सलाई पराजित गरेपनि पिएसजीले उपाधिको लागि अर्काे खेल नै कुर्नुपर्ने भएको छ । अर्काे खेलमा दोस्रो स्थानमा रहेको मार्सेले नान्टेसलाई ३–२ ले पराजित गरेपछि पिएसजीले लिग वानको उपाधिको लागि अझै कुर्नुपर्ने भएको हो ।
यो जितसँगै शीर्षस्थानमा रहेको पिएसजीको ३३ खेलबाट ७७ अंक पुगेको छ । पिएसजीले दोस्रो स्थानको मार्सेलाई १५ अंकले पछि पारेको छ । दोस्रो स्थानमा रहेको मार्सेको ६२ अंक छ । पराजित एन्जर्स ३४ अंक जोडेर १४औं स्थानमा रहेको छ ।