काठमाडौँ – प्रहरीले जनकपुरबाट एक नक्कली परीक्षार्थीलाई पक्राउ गरेको छ। सिटिइभिटीको परीक्षा दिन आएका एकजना नक्कली परीक्षार्थीलाई धनुषा प्रहरीले बिहिबार पक्राउ गरेको हो।
पक्राउ पर्नेहरुमा धनुषाको गणेशमान चारनाथ नगरपालिका-५ बस्ने २२ वर्षीय रामकृष्ण साह रहेका छन्। उनलाई जनकपुरधामस्थित सिटिइभिटीको परीक्षा केन्द्रबाट पक्राउ गरिएको धनुषा प्रहरीले जनाएको छ।
सिटिइभिटी बोर्डबाट सञ्चालित प्रि-डिप्लोमा इन सर्वे इन्जिनियरिङको परीक्षा दिन आएका उनी नक्कली परीक्षार्थी भएको पाइएपछि प्रहरीले नियन्त्रणमा लिएको थियो।
जनकपुरधाम उपमहानगरपालिका-१ स्थित मोनाष्टिक आवासीय विद्यालयको परीक्षा केन्द्रमा ‘प्रि डिप्लोमा इन सर्भे इन्जिनियरिङ’को परीक्षामा परीक्षार्थी लक्ष्मीनारायण झाको ठाउँमा रामकृष्ण साहले परीक्षा दिरहेका थिए।
त्यस्तै नक्कली परीक्षार्थी खडा गर्ने सर्लाहीको ब्रह्मपुरी गाउँपालिका-२ बस्ने २० वर्षीय लक्ष्मीनारायण झालाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरीले उनलाई परीक्षा केन्द्रको वरिपरि घुमिरहेको अवस्थामा पक्राउ गरेको थियो।
पक्राउ परेका दुवै जनामाथि शिक्षा ऐन अन्तर्गत म्याद थप गरी थप अनुसन्धान कार्य भई रहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।