आजबाट एसइई: बीचबाटै कता हराए ८ लाख विद्यार्थी ?

काठमाडौँ – राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) आज (शुक्रबार) देखि देशभरि एकसाथ सञ्चालन गर्दैछ। देशभरिबाट ४ लाख ९४ हजार ६ सय ८१ विद्यार्थी परीक्षामा सहभागी हुने परीक्षा बोर्डले जनाएको छ। यो समाचार नागरिक दैनिकमा प्रकाशित छ।

परीक्षाका लागि देशभरि २ हजार २७ परीक्षा केन्द्र तोकिएका छन्। यी विद्यार्थी १० वर्षअघि अर्थात् २०६९ क्षा १ मा भर्ना भई एसइईमा सहभागी हुन लागेका हुन्। तर २०६९ सालमा कक्षा १ मा भर्ना भएका कुल विद्यार्थीमध्ये ५० प्रतिशतभन्दा बढी विद्यार्थी कक्षा १० सम्म आइनपुगी विद्यालय शिक्षाबाट बाहिरिएका छन्।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रका निर्देशक रामचन्द्र शर्माका अनुसार २०६९ सालमा कक्षा १ मा १२ लाख ७६ हजार २ सय ४० विद्यार्थी भर्ना भएका थिए। तीमध्ये कक्षा १० मा एसइई दिनेहरू ४ लाख ९४ हजार ६ सय ८१ मात्र छन्। कक्षा १ देखि १० सम्मको अवधि पार गर्दासम्म ७ लाख ८१ हजार ५ सय ५९ विद्यार्थी बीचैमा हराएको सरकारी तथ्यांक छ।

नेपाल सरकारका पूर्वसचिव तथा परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले कक्षा १ मा भर्ना भएका अधिकांश विद्यार्थी विभिन्न परीक्षा पास नभएका कारण कक्षा १० सम्म पुग्न नसकेको बताए। १० वर्षअघि कक्षा १ मा भर्ना भएका विद्यार्थीमध्ये कतिपयले बीचैमा कक्षा छाड्ने, कतिपयले एउटै कक्षामा पटकपटक दोहोर्‍याउने र कतिपय विद्यार्थीहरू गरिबीका कारण बालश्रममा पुग्ने गर्दा ७ लाखभन्दा बढी विद्यार्थी एसइईमा सहभागी हुन नसकेको उनको बुझाइ छ।

‘पारिवारिक आर्थिक अवस्था कमजोर भएका विद्यार्थी कतिपयले १६ वर्ष पुग्नुअघि नै परिवारको जिम्मेवारी धान्न बालश्रममा लागे। कक्षा १० सम्म पढाइ पूरा गर्न सकेनन् अनि बीचैमा पढाइ छाडेको र कामतिर लागेको हुन सक्छ,’ परीक्षा बोर्डका अध्यक्ष शर्माले नागरिकसँग भने, ‘कतिपय पढाइमा असफल भए र भारत तथा खाडी मुलुकतिर श्रमबजारमा लागेकाले उनीहरू कक्षा १० सम्म पुग्न सकेनन् ।’ विद्यार्थीलाई कक्षामा टिकाइराख्न र बालश्रम न्यूनीकरण गर्न सरकारले आन्तरिक सक्षमता सुधार्नु जरुरी रहेको उनले सुझाए। कक्षा १ मा भर्ना भएका सबै विद्यार्थीलाई पास गराएर माथिल्लो कक्षामा लान विद्यालय जाने वातावरण बनाउन सरकारले शिक्षामा बजेट वृद्धि गर्नेदेखि शैक्षिक सुधारको काम गर्नेतर्फ ध्यान दिनु आवश्यक देखिएको उनको भनाइ छ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक चूडामणि पौडेलले कक्षाकोठाभित्र अझै पनि शिक्षण सिकाइको वातावरण बालबालिका केन्द्रित बन्न नसकेकै कारण कक्षा १ मा भर्ना भएका विद्यार्थीमध्ये धेरै संख्यामा विद्यार्थीहरू बीचैमा हराउने गरेको विश्लेषण गरे। उनले कक्षा १ मा भर्ना भएका विद्यार्थीमध्ये ७ लाख बढी बीचैमा हराउनु शिक्षा क्षेत्रमै ठुलो क्षति भएको औंल्याए।

१० लाख ८० हजार अझै बालश्रममा

आइएलओको राष्ट्रिय कार्यक्रम संयोजक नारायणप्रसाद भट्टराईका अनुसार आइएलओको एक अध्ययनले विश्वमा १६ करोड बालबालिका बालश्रममा रहेको देखाउँछ। तीमध्ये ६ करोड ५० लाख बालिका र ९ करोड ७० लाख बालक छन्। विश्वको कुल बालश्रमिकमध्ये ९ करोड अर्थात् ६० प्रतिशत बालबालिका अफ्रिकामा बालश्रममा रहेको तथ्यांक छ। एसियाली क्षेत्रमा ४ करोड ८७ लाख बालबालिका श्रममा छन्। नेपालमा करिब ११ लाख बालबालिका बालश्रममा छन्। तीमध्ये ८७ प्रतिशत बालबालिका कृषि र घरायसी काममा छन्।

प्रकाशित : शुक्रबार, बैशाख ०९, २०७९०७:३९

चौथोपटक फैलिने कोरोना संक्रमण तेस्रो लहरकै रूपमा आउने !