दुवै हातले गर्दैनन् काम, खुट्टाले लेखेर एसईई दिँदै हरिप्रसाद !

काठमाडौँ – दक्षिणकाली नगरपालिका चाल्नाखेल-१ निवासी ३५ वर्षीय हरिप्रसाद बुढाथोकीका दुवै हातले काम गर्दैनन् । उनका खुट्टा पनि त्यति सबल छैनन् । सामान्य हिँडडुल गर्न पनि उनलाई कठिन हुन्छ तर उच्च शिक्षा अध्ययन गरेर नोकरी गर्ने उत्कर्ष इच्छा छ। यो समाचार गोरखापत्रमा प्रकाशित छ।

त्यसैले दाहिने खुट्टाका सहाराले लेख्न सक्ने बुढाथोकी शुक्रबारदेखि सुरु हुने २०७८ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई)मा सहभागी हुँदैछन् । उनलाई बोल्न पनि गाह्रो छ। निकै कठिनसाथ उनले भने, “क्याम्पस पढेर जागिर खाएर आफ्नो खुट्टामा उभिन्छु।”

जन्मँदै शारीरिक अपाङ्गता भएका बुढाथोकीले कक्षा ४ सम्मको पढाइपछि बिरामीका कारण पढाइ छाडे। २०७० सालमा चाल्नाखेल आधारभूत विद्यालयमा पुनः भर्ना भई कक्षा ८ पूरा गरे । टौदह राष्ट्रिय माविमा कक्षा ९ मा भर्ना त हुनुभयो तर घरबाट झण्डै तीन किलोमिटर टाढाको विद्यालयमा आउजाउ गर्न निकै कठिन भयो। पढाइ छाड्नुपर्यो। गत असारमा फर्पिङको शिखरापुर खुला विद्यालयमा कक्षा १० मा भर्ना भई अध्ययनलाई निरन्तरता दिएका बुढाथोकी बिहीबार अङ्ग्रेजी विषयको तयारीमा जुटेका थिए ।

वैशाख ९ गते एसईईको पहिलो दिन अनिवार्य अङ्ग्रे जी विषयको परीक्षा हुँदैछ । खुट्टाले लेख्नुपर्ने समस्या भएकाले बुढाथोकी राम्ररी बोल्न सक्ने भइदिएको भए सहयोगीलाई राखेर परीक्षा  दिलाउन सकिन्थ्यो भन्दै शिखरापुर खुला विद्यालयका प्रधानाध्यापक विनोद महतले बोलीका कारण त्यो सम्भव नभएको बताए ।

प्रकाशित : शुक्रबार, बैशाख ०९, २०७९०७:५९

किन भयो एकाएक ग्याँस अभाव ? सिलिन्डर साट्न पाँच दिनको पालो !