एजेन्सी – फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन(पिएसजी)मा युवा स्टार किलियन एम्बाप्पेको सम्झौता लगभग दुई महिनाका लागि मात्रै छ। दुई महिना पछि उनी कता जाने हुन् भन्ने अझै टुंगो लागिसकेको छैन।
धेरैले एम्बाप्पे रियल म्याड्रिड जाने अनुमान लगाइरहेपनि एम्बाप्पे आफैंले भने त्यस्तो केहि निर्णय गरिसकेका छैनन्। एम्बाप्पेलाई रियल र पिएसजी दुवै तर्फबाट राम्रो प्रस्ताव गरिएको छ। खबरमा आएअनुसार एम्बाप्पेलाई विश्वकै उच्च पारिश्रमिक दिन दुवै क्लब लगभग तयार छन्।
पिएसजी त एम्बाप्पेलाई वार्षिक ५० मिलियन युरो पारिश्रमिक दिन समेत तयार रहेको बताइन्छ। एम्बाप्पेलाई क्लबमा अड्याउन पिएसजी जुन सुकै हद सम्म पनि जान सक्ने फ्रेन्च मिडियाहरुको भनाई छ। पिएसजी एम्बाप्पेका धेरै जस्तो शर्त मान्न तयार रहेको फ्रेन्च मिडियाहरु दावी गर्छन्।
त्यस्तै रियल पनि एम्बाप्पेलाई जसरी पनि क्लबमा चाहन्छ। रियलले एम्बाप्पेलाई पिएसजी जस्तै उच्च पारिश्रमिक प्रस्ताव गरिएको बताइन्छ। तर एम्बाप्पे र रियल बीच केहि कुरामा भने सहमति हुन सकिरहेको छैन। ‘इमेज राइट्स’को विषयमा रियल र एम्बाप्पे बीच नमिलेको खेल मिडिया ‘गोल’को दावी छ।
खबरका अनुसार एम्बाप्पे ‘इमेज राइट्स’मा शतप्रतिशत आफ्नो नियन्त्रण चाहन्छन्। तर रियल भने सो अधिकारको ५० प्रतिशत हिस्स्सा आफूसँग राख्न चाहन्छ। जस कारण एम्बाप्पे रियल जाने निर्णयबाट ब्याक हुन सक्छन्। पिएसजी भने सो विषयमा एम्बाप्पे जसो भन्छन् उसै गर्न तयार छ।
त्यस्तै रियल सुपर लिगको सदस्य क्लब पनि हो। स्पेनको अदालतले सुपर लिगमा सहभागी हुने क्लबहरुलाई कारवाही गर्न अनुमति दिसकेको छ। यस्तोमा एम्बाप्पेले रियल जाने निर्णयमा पुनर्विचार पनि गर्न सक्छन्।