बार्सिलोनामा ‘औवामियाङ इफेक्ट’: सोचे भन्दा छिटो ‘सेटल’ भएको देखेर सबै छक्क !

एजेन्सी – गाबोनका फुटबलर पिएरे इमरिक औवामियाङका लागि सन् २०२१-२०२२ सिजनका शुरुवाती समय कष्टकर रह्यो। सिजनको शुरुवातमा उनले राम्रो प्रदर्शन गर्न पनि सकेनन् र अनुशासनात्मक उल्लङ्घनका लागि उनी आर्सनलको कारवाहीमा समेत परे।

अनुशासनात्मक उल्लङ्घनका लागि कारवाहीमा परेपछि उनले आर्सनलमा नियमित खेल्न पाउनै छाडे। उनलाई खेलाउने भन्दा पनि बेच्नेमा आर्सनलको प्राथमिकता रह्यो। तर उनको लागि खासै राम्रो प्रस्तावहरु आएनन्।

उता लालिगामा कम्जोर प्रदर्शन गरिरहेको बार्सिलोनालाई राम्रो स्ट्राइकर चाहिएको थियो। लियोनेल मेस्सीले क्लब छाडेपछि धर्मराएको आक्रमणलाई ट्रयाकमा ल्याउन बार्सिलोनाले जनवरी ट्रान्सफर विन्डोको अन्तिम समयमा आर्सनललाई सम्पर्क गर्यो।

पहिला बार्सिलोनाले आर्सनलसँग औवामियाङलाई लोनमा भित्र्याउने प्रस्ताव गरेको थियो। तर कुराकानी अगाडी बढ्दै गर्दा औवामियाङलाई स्थायी रुपमा नै भित्र्याउन सकिने अवस्था बन्यो। औवामियाङ पनि आर्सनल छाडेर बार्सिलोना जान इच्छुक देखिए। अन्ततः औवामियाङसँग बार्सिलोनाले सम्झौता गर्यो।

औवामियाङ बार्सिलोना आउँदा सायदै सोचेका थिए होलान्, उनले बार्सिलोनामा सहजै ‘सेटल’ हुनेछन्। औवामियाङ बार्सिलोनाको टोलीमा जसरी ‘सेटल’ भएका छन्, त्यसले धेरैलाई चकित बनाइदिएको छ। जनवरी ट्रान्सफर विन्डोमा बार्सिलोना पुगेयता उनी बार्सिलोनाका लागि निरन्तर गोल गरिरहेका छन्।

औवामियाङ बार्सिलोना आएलगतै टीममा सेटल हुन सके। उनले सम्झौता गर्दा बार्सिलोना लालिगाको पाँचौ स्थानमा थियो। त्यसबेला बार्सिलोनाको ३५ अंक मात्र थियो। उनी आएयता बार्सिलोनाले लालिगामा मात्र एकपटक हारेको छ भने मात्रै एक खेल बराबरी खेलेको छ।

बाँकी सबै खेलमा बार्सिलोनाले जितेको छ। औवामियाङले लालिगामा अहिले सम्म ११ खेल खेलेका छन्। जसमा उनले ९ गोल गरिसकेका छन्। उनको नाममा एक असिस्ट पनि छ।

त्यस्तै युरोपा लिगमा पनि उनले बार्सिलोनाका लागि दुई गोल गरेका थिए। बार्सिलोनाका लागि उनले समग्रमा १७ खेल खेलेका छन्। जसमा उनले ११ गोल गरिसकेका छन्।

प्रकाशित : शनिबार, बैशाख १०, २०७९१७:२२

अहिलेसम्म कसैले बनाउन नसकेको रेकर्ड रोनाल्डोले बनाए, बितेका छोरामा समर्पित गरे !