एजेन्सी – शिर्ष चारको दौडमा रहेको आर्सनलले प्रिमियर लिगमा महत्वपूर्ण जित निकालेको छ। शनिबार साँझ भएको खेलमा आर्सनलले घरेलु मैदानमा म्यानचेस्टर युनाइटेड विरुद्ध जित निकालेको हो।
युनाइटेडको पोस्टमा ३ गोल गर्दा आर्सनलले एक गोल मात्र बेहोर्यो। युनाइटेड विरुद्ध आर्सनलको तर्फबाट नुनो ताभारेस, बुकायो साका र ग्रेनिट साकाले गोल गरे। त्यस्तै युनाइटेडका लागि भने एक मात्र गोल क्रिस्टियानो रोनाल्डोले गरे। बुकायो साकाले गरेको गोल पेनाल्टी थियो।
आर्सनलले खेलको तेस्रो मिनेटमै ताभारेसको गोलबाट अग्रता लिएको थियो। खेलको ३२ औं मिनेटमा पाएको पेनाल्टीको अवसरलाई बुकायो साकाले खेर जान दिएनन्। त्यसको दुई मिनेटमा युनाइटेडका रोनाल्डोले एक गोल फर्काए। त्यसपछि पहिलो हाफमा कुनै पनि गोल हुन सकेन।
दोस्रो हाफमा युनाइटेडले पेनाल्टीको अवसर पाएपनि त्यसको सदुपयोग गर्न सकेन। युनाइटेडका लागि ब्रुनो फर्नान्देजले पेनाल्टी प्रहार गरेका थिए। आर्सनलका लागि तेस्रो गोल खेलको ७० औं मिनेटमा भएको थियो।
खेलभर आर्सनलले बलमा नियन्त्रण राखेको थियो। बलमा आर्सनलको ५६ प्रतिशत पकड रह्यो। खेलभर आर्सनलको तर्फबाट कुल १४ प्रहार भएका थिए। ती मध्ये ७ प्रहारी टार्गेटमा थिए। त्यस्तै युनाइटेडको तर्फबाट भने कुल १४ नै प्रहार भएका थिए। जसमा ५ प्रहार मात्रै टार्गेटमा थिए।
युनाइटेड विरुद्धको खेलमा जित निकालेसँगै आर्सनल प्रिमियर लिगको चौंथो स्थानमा उक्लिएको छ। सिजनका ३३ खेल खेल्दा आर्सनलले ६० अंक बनाएको छ। आर्सनल तेस्रो स्थानमा रहेको चेल्सी भन्दा मात्रै दुई अंकले पछाडी छ। त्यस्तै युनाइटेड भने छैठौं स्थानमै सिमित भएको छ। ३४ खेल खेलेको युनाइटेडको ५४ अंक मात्रै छ।

