एजेन्सी – ब्राजिली फरवार्ड गाब्रियल जेससको ह्याट्रिकसहित चार गोल मद्दतमा इंग्लिस प्रिमियर लिगको शीर्षस्थानमा रहेको म्यानचेस्टर सिटीले सानदार जित निकालेको छ ।
सिटीले घरेलु मैदानमा वाट्फोर्डमाथि ५–१ को सानदार जित निकालेको हो । एक गोल रोड्रीले गर्दा वाट्फोर्डका हसाने कामराले एक गोल फर्काए ।
इतिहाद स्टेडियममा शनिबार राति भएको खेलको चौथो मिनेटमा गाब्रियल जेससको गोलबाट घरेलु टोलीले सुरुवाती अग्रता लिन सफल भएको थियो । उनले ओलेक्सान्डर जिन्चेन्कोको पासमा गोल गर्न सफल भएका थिए । २३औं मिनेटमा जेससले केभिन डि ब्रुयनको पासमा व्यक्तिगत र टोलीका लागि दोस्रो गोल गर्दै अग्रता दोब्बर पारे ।
२८औं मिनेटमा हसाने कामराले गोल गर्दै खेललाई २–१ को स्थितिमा ल्याए । तर, त्यसपछि पाहुना टोली वाट्फोर्डले सिटीको लगातारको आक्रमणलाई थेग्न सकेन । ३४औं मिनेटमा दुई गोल गरिसकेका जेससको पासमा रोड्रीले गोल गर्दै सिटीलाई पहिलो हाफमा ३–१ ले अघि बढाए ।
४९औं मिनेटमा जेससले पेनाल्टीमा गोल गर्दै ह्याट्रिक पूरा गर्दा सिटी खेलमा ४–१ ले अघि बढ्यो । गोलरक्षक बेन फोस्टरले जेससलाई फउल गरेपछि रेफ्रीले सिटीलाई पेनाल्टी प्रदान गर्दा जेसस चुकेनन् ।
५३औं मिनेटमा केभिन डि ब्रुयनको पासमा जेससले व्यक्तिगत चौथो तथा टोलीलाई लागि पाँचौ गोल गर्दै टोलीलाई ५–१ ले अघि बढाए । त्यसपछि थप गोल निस्कन नसक्दा सिटी विजयी हुन सफल भयो ।
यो जितसँगै शीर्षस्थानमा रहेको सिटीले यो सिजनको लिग जित्ने सम्भावनालाई बलियो बनाएको छ । सिटीको ३३ खेलबाट ८० अंक पुगेको छ । सिटीले एक खेल कम खेलेको दोस्रो स्थानको लिभरपुललाई ४ अंकले पछि पारेको छ । लिभरपुलको ७६ अंक छ । पराजित वाट्फोर्ड २२ अंक जोडेर रेलिगेसन जोनको १९औं स्थानमा रहेको छ ।
अन्य नतिजा
आर्सनलविरुद्ध म्यानचेस्टर युनाइटेड (३–१), लेस्टरविरुद्ध एस्टन भिल्ला (०–०) र नर्विचविरुद्ध न्यूक्यासल (०–३)

