डर्टमुन्डलाई पराजित गर्दै बायर्न बन्यो बुन्डेसलिगा च्याम्पियन !

एजेन्सी – जर्मन क्लासिकेरमा बोरुसिया डर्टमुन्डलाई पराजित गर्दै बायर्न म्युनिख लगातार १०औं सिजन जर्मन बुन्डेसलिगा च्याम्पियन बनेको छ ।

शनिबार राति भएको खेलमा घरेलु मैदानमा बोरुसिया डर्टमुन्डलाई ३–१ ले पराजित गर्दै बायर्न बुन्डेसलिगाको तीन खेल बाँकी छँदै च्याम्पियन बन्न सफल भएको हो । बायर्नको यो समग्रमा ३२औं बुन्डेसलिगा उपाधि हो ।

एलिएन्ज एरिनामा बायर्नको जितमा सर्ज जिनाब्री, रोबर्ट लेवान्डोस्की र जमल मुसियालाले गोल गरे । डर्टमुन्डका इम्री क्यानले एक गोल फर्काए । खेलको १५औं मिनेटमा सर्ज जिनाब्रीको गोलबाट बायर्नले सुरुवाती अग्रता लिन सफल भयो । उनले लियोन गोरेट्जकाको पासमा गोल गर्न सफल भएका थिए ।

२९औं मिनेटमा जिनाब्रीले गोल गरेपनि आफसाइड ठहरिदा गोलले मान्यता पाएन । ३४औं मिनेटमा रोबर्ट लेवान्डोस्कीले थोमस मुलरको पासमा गोल गर्दै बायर्नको अग्रता दोब्बर पारे । ४२औं मिनेटमा इम्री क्यानले पेनाल्टीमा गोल गर्दै खेललाई २–१ को स्थितिमा ल्याए । तर, ८३औं मिनेटमा जमल मुसियालाले मार्सेल सवित्जरको पासमा गोल गर्दै बायर्नको जित पक्का गरे ।

यो जितसँगै च्याम्पियन बनेको बायर्नको ३१ खेलबाट ७५ अंक पुगेको छ । दोस्रो स्थानमा रहेको डर्टमुन्डको समान खेलबाटै ६३ अंक छ । जुन १२ अंकको अन्तर हो ।

बायर्न र मुख्य प्रशिक्षक जुलियन नागेल्समानको यो सिजनको दोस्रो उपाधि हो । यसअघि बायर्न र नागेल्समानले जर्मन सुपर कपको उपाधि हात पारेको थियो । प्रशिक्षक नागेल्समान सिजनको सुरुवातसँगै बायर्नमा आबद्ध भएका थिए ।

यो नतिजासँगै बायर्नले जर्मन क्लासिकेरमा डर्टमुन्डलाई लगातार आठौं खेलसम्म हराउन सफल भएको छ । सन् २०१९ को सुपर कपमा २–० ले पराजित भएयता बायर्नले डर्टमुन्डसँग हार बेहोरेको छैन ।

सन् २०१२–१३ को सिजनपछि बायर्नले घरेलु फुटबलमा एक वर्चस्व कायम गर्दै लगातार च्याम्पियन बन्न सफल भएको हो । त्यो भन्दा अघिल्लो दुई सिजन बायर्नको अधिपत्य तोड्दै डर्टमुन्ड लगातार दुई सिजन च्याम्पियन बनेको थियो ।

प्रकाशित : आइतबार, बैशाख ११, २०७९०८:२०

च्याम्पियन्समा चिप्लिएको पिएसजी बन्यो फ्रेन्च लिग वानको च्याम्पियन !