च्याम्पियन्समा चिप्लिएको पिएसजी बन्यो फ्रेन्च लिग वानको च्याम्पियन !

एजेन्सी – लिगको चार राउन्डको खेल बाँकी छँदै पेरिस सेन्ट जर्मेन (पिएसजी) ले कीर्तिमानी १०औं पटक फ्रेन्च लिग वानको च्याम्पियन बनेको छ ।

शनिबार राति घरेलु मैदानमा लेन्ससँग १–१ गोलको बराबरी रोकिएपनि पिएसजी च्याम्पियन बन्न सफल भएको हो । पार्क डेस प्रिन्सेसमा शनिबार राति भएको खेलको ६८औं मिनेटमा लियोनल मेस्सीले गोल गर्दै पिएसजीलाई सुरुआती अग्रता दिलाए ।

त्यसअघि ५७औं मिनेटमा डान्सोले रातो कार्ड पाएपछि लेन्स १० खेलाडीमा समेटिएको थियो । ८८औं मिनेटमा कोरेन्टिन जिनले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए ।

बराबरीमा रोकिएपनि पीएसजीलाई उपाधि जित्न १ अंक पर्याप्त बन्यो । यस बराबरीसँगै पीएसजीले ३४ खेलमा ७८ अंक जोडेको छ । अब पिएसजीले आफ्नो सबै चार खेलमा हार बेहोरेपनि च्याम्पियन बन्न रोकिनेछैन । दोस्रो स्थानमा रहेको मार्सेको ६२ अंक छ ।

लेन्स ५४ अंक जोडेर सातौं स्थानमा रहँदा युरोपियन लिग खेल्ने सम्भावना झिनो बन्दै गएको छ । पीएसजीको यो १०औं लिग उपाधि हो । च्याम्पियन बनेसँगै पिएसजीले सर्वाधिक लिग वान जित्ने सेन्ट इटिएनसँगको कीर्तिमानलाई बराबरी गरेको छ ।

प्रकाशित : आइतबार, बैशाख ११, २०७९०८:२९

रियलविरुद्धको जितलाई जाभीले ‘साइन्स फिक्सन’ भने, लालिगा जित्न नसक्ने घोषणा !