अन्तिम समयमा पुलिसिसको गोल, तेस्रो स्थानमा ५ अंकको अग्रता !

एजेन्सी – इन्ज्युरी समयमा अमेरिकी मिडफिल्डर क्रिस्टियन पुलिसिसले गोल गरेपछि लन्डन क्लब चेल्सीले इंग्लिस प्रिमियर लिगमा महत्वपूर्ण जित निकालेको छ ।

चेल्सीले घरेलु मैदानमा १० खेलाडीमा समेटिएको वेस्ट ह्याम युनाइटेडलाई १–० ले पराजित गरेको हो । बराबरीतर्फ धकेलिएको खेलको ९०औं मिनेटमा पुलिसिसले गोल गर्दै चेल्सीलाई महत्वपूर्ण ३ अंक दिलाए ।

स्टामफोर्ड ब्रिजमा आइतबार राति भएको खेलमा घरेलु टोली चेल्सीले बल पोसेसन राख्दै पाहुना टोलीलाई दवावमा राखेपनि गोलको लागि निकै संघर्ष गर्नुपरेको थियो । ८६औं मिनेटमा क्रेइग डासन रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि वेस्ट ह्याम १० खेलाडीमा समेटिन पुगेको थियो ।

थियागो सिल्भाको फ्लिक गरेको बलमा फरवार्ड रोमेलु लुकाकुसँग जुध्दै फउल गर्न पुगेका क्रेइग डासनलाई सुरुवातमा पहेलो कार्ड देखाइएपनि भिएआरको सहायतामा रातो कार्ड देखाउँदै मैदान बाहिर पठाएको थियो । तर, त्यसमै प्राप्त पेनाल्टीमा जर्गिन्हो चुकेपछि चेल्सीले अग्रता लिन सकेन । त्यसपछि ९०औं मिनेटमा पुलिसिसले मार्काेस अलन्सोको पासमा गोल गर्दै चेल्सीलाई जित दिलाए ।

यो जितसँगै चेल्सीले तेस्रो स्थानमा आफुलाई थप मजवुत बनाएको छ । चेल्सीको ३२ खेलबाट ६५ अंक पुगेको छ । एक खेल बढी खेलको आर्सनल ६० अंक जोडेर चौथो स्थानमा रहेको छ । पराजित वेस्ट ह्याम ३४ खेलबाट ५२ अंक जोडेर सातौं स्थानमा रहेको छ ।

प्रकाशित : आइतबार, बैशाख ११, २०७९२१:१५

फेरी ओरालो लाग्न थाल्यो बार्सिलोना, घरमै स्तब्ध !