काठमाडौं । स्थानीय निर्वाचनका लागि उम्मेदवार दर्ता गर्ने आज सोमबार अन्तिम दिन हो । हिजो आइतबार राति अबेरसम्म पनि प्रमखु सत्तारूढ दल नेपाली कांग्रेसले अधिकांश स्थानीय तहको उम्मेदवार टुंगाउन सकेको छैन । यो समाचार नेपाल समाचारपत्रमा प्रकाशित छ।
विधानतः एक महिना अगावै उम्मेदवारको तय गर्नुपर्ने भए पनि आन्तरिक विवाद र गठबन्धनबीच तालमेलको विषयले अलमलमा परेको कांग्रेसले महानगरपालिकाको प्रमुख र उपप्रमुखको आधिकारिक निर्णय गर्ने अधिकार प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवालाई दिएको छ ।
कांग्रेस विधानमा महानगरपालिकाको प्रमुख र उपप्रमुखको उम्मेदवार घोषणा केन्द्रीय संसदीय समितिले गर्ने व्यवस्था छ । आइतबार बसेको कार्यसम्पादन समिति बैठकले संसदीय समिति गठन गरी उम्मेदवारको अन्तिम निर्णय गर्ने अधिकार सभापति देउवालाई दिएको पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभएको हो ।
पाँचदलीय गठबन्धनबीच ६ वटा महानगरमध्ये कांग्रेसले काठमाडौं, ललितपुर र विराटनगरको प्रमुख पदमा उम्मेदवारी दिने सहमति छ भने वीरगन्ज, पोखरा र भरतपुर महानगरपालिकामा कांग्रेसले उपप्रमुखमा उम्मेदवारी दिने सहमति भएको छ ।
पार्टी विधानअनुसार महानगरपालिका कार्यसमितिबाट सिफारिस भएर आएको नाममध्येबाट सभापति देउवाले आधिकारिक उम्मेवार छनोट गर्ने मुख्य सचिव पौडेलले बताउनुभएको छ ।

