मेस्सीलाई करिअरको ३९ औं उपाधि ! अहिले सम्म कुन-कुन उपाधि जिते ?

एजेन्सी – अर्जेन्टिनी फरवार्ड लिओनेल मेस्सीले व्यावसायिक करिअरको ३९ औं उपाधि जित्ने क्रममा फ्रान्सेली लिगको उपाधि जितेका छन् । लेन्सविरुद्ध बराबरी खेल्दै उपाधि जित्दा मेस्सीले पिएसजीका लागि एकमात्र गोल गरेका थिए ।

मेस्सीले जारी सिजन ४ प्रतियोगितामा प्रतिस्पर्धा गर्दा तीनमा भने उपाधि जित्न सकेनन् । सिजनको सुरुवातमा फ्रेन्च कप र फ्रान्सक सुपर कपमा हार बेहोरेको पिएसजी च्याम्पियन्स लिगमा पनि रियल म्याड्रिडसँग पराजित भएको थियो । लिगमा भने टोलीले ४ खेल बाँकी रहँदै उपाधि पक्का गरेको हो ।

विश्व फुटबलमा सर्वाधिक उपाधि जित्ने कीर्तिमान भने ब्राजिलियन डिफेन्डर ड्यानी आल्भेसको नाममा रहेको छ । उनले हालसम्म करिअरमा ४२ उपाधि जितेका छन् । हाल बार्सिलोनामा खेलिरहेका आल्भेसले यस सिजन कुनै उपाधि नजित्ने पक्का भइसकेको छ ।

आफ्नो करिअरको अधिकांश समय बार्सिलोनामा बिताएका मेस्सीले १० पटक ला लिगा उपाधि जितेका थिए । ८ पटक स्पेनिस सुपर कप, ७ पटक कोपा डेल रे, ४ पटक च्याम्पियन्स लिग, ३ पटक क्लब विश्वकप तथा युरोपेली सुपर कप जितेका छन् । मेस्सीले अर्जेन्टिनाबाट सन् २००५ को यू२० विश्वकप, २००८ को ओलम्पिक स्वर्ण पदक तथा गत वर्ष कोपा अमेरिका जितेका थिए ।

आल्भेसको ४२ र मेस्सीको ३९ पछि उपाधि जित्ने सुचिमा आन्द्रेस इनिएस्टा र म्याक्सवेलले ३७ तथा जेरार्ड पिके र रायन गिग्स ३५ उपाधि जितेका छन् ।

प्रकाशित : सोमबार, बैशाख १२, २०७९१४:४४

लगातार हार्न थालेपछि जाभीले भने – ‘शिर्ष चारमा रहन अब कठिन हुने भयो’