एजेन्सी – जर्मन डिफेन्डर एन्टोनी रुडिगर रियल म्याड्रिड जाने भएका छन्। चेल्सीसँग सम्झौता यहि सिजनको अन्त्यमा सकिँदै गरेका रुडिगर रियल जाने भएका हुन्। चेल्सी र रुडिगर बीचको सम्झौता यहि सिजन सम्मका लागि मात्रै छ।
उनी अहिले नै विश्वका जुनसुकै क्लबसँग अग्रिम सम्झौता गर्न खुला भइसकेका छन्। रुडिगर फ्री ट्रान्सफरमा उपलब्ध हुने हुँदा युरोपका धेरै क्लबहरुले उनलाई भित्र्याउने प्रयास गरिरहेका छन्।
रुडिगरलाई भित्र्याउन चाहने क्लबहरुमा रियल म्याड्रिड, बार्सिलोना, पेरिस सेन्ट-जर्मेन, युभेन्टस र बायर्न म्युनिख रहेका छन्। तर उनलाई भित्र्यौअने दौडमा सबै भन्दा अगाडी रियल म्याड्रिड देखिन्छ।
विभिन्न खेल मिडियाहरुले गरेको दावी अनुसार रुडिगर र रियल बीच मौखिक सहमति भइसकेको छ। दुई पक्ष बीच आउने केहि देखि भित्रै सम्झौता हुन सक्ने बताइन्छ। स्पेनिस मिडियाहरुले गरिरहेको दावीलाई मान्ने हो भने रियल र रुडिगर बीच यहि साता सम्झौता हुन सक्छ। रुडिगर फ्री ट्रान्सफरमा उपलब्ध हुने हुँदा रियलले कुनै पनि ट्रान्सफर रकम तिर्नुपर्ने छैन ।
दुई पक्ष बीच सम्झौतालाई अन्तिम रुपमा दिने विषयमा निरन्तर छलफल भइरहेको बताइन्छ। खबरका अनुसार रियल र रुडिगर बीच चार वर्षका लागि सम्झौता हुन सक्छ।
चेल्सी छाड्ने पुष्टि
रुडिगरले चेल्सी छाड्ने स्पष्ट भइसकेको छ। चेल्सीक प्रशिक्षक थोमस टुचेलले नै पुष्टि गरिसकेका छन्। आइतबार मात्रै उनले रुडिगर चेल्सी छाड्ने निर्णयमा पुगिसकेको जानकारी गराएका थिए। रुडिगरले चेल्सी छाड्न चाहेको बारे आफूलाई प्रष्ट पारिसकेको टुचेलको भनाई थियो।
“स्थिति यस्तो छ कि उनी क्लब छोड्न चाहन्छन्। उनले मलाई यो कुरा एक निजी कुराकानीमा बताइसकेका छन्।”,पत्रकारहरुसँग कुराकानी गर्नेक्रममा टुचेलले भनेका थिए। क्लबले पूरा प्रयास गरिरहेपनि रुडिगरलाई अड्याउन नसकिने स्थिति उत्पन्न भएको टुचेलले बताएका थिए।

