एजेन्सी – फ्रेन्च युवा स्टार किलियन एम्बाप्पे करियरकै कठिन मोडमा छन्। आउने केहि महिना भित्रै उनले आफ्नो भविष्यलाई लिएर महत्वपूर्ण निर्णय लिनुपर्नेछ। उनको पेरिस सेन्ट जर्मेन(पिएसजी)मा यहि सिजन सम्मका लागि मात्रै सम्झौता छ।
सम्झौता सकिनै लाग्दा समेत एम्बाप्पे पिएसजीमै रहन्छन् कि अन्यत्र जान्छन् भन्ने कुरा अन्योलमै छ। एम्बाप्पेलाई सम्झौता थप गराउने पिएसजीको प्रयास जारी छ। पिएसजी एम्बाप्पेका लगभग धेरै जस्ता शर्तहरु मान्न तयार छ। खबरमा आएअनुसार पिएसजी एम्बाप्पेलाई विश्वकै सर्वाधिक पारिश्रमिक पाउने खेलाडी बनाउन समेत चाहन्छ।
के ले रोकिरहेको छ ?
एम्बाप्पे स्पेनिस महारथी रियल म्याड्रिडका ठूला ‘फ्यान’ हुन्। रियलबाट खेल्ने उनको सपना छ। बचपन देखिकै सो सपनाका लागि उनी रियल जान खोजिरहेका छन्। जसकारण उनले पिएसजीबाट भएका धेरै जस्ता प्रस्तावहरु अस्विकार गरिरहेका छन्।
कहिले गर्लान् निर्णय ?
एम्बाप्पेले यस अगाडी नै सिजनभर आफू पिएसजीमा केन्द्रित हुने बताइसकेका छन्। यसको अर्थ एम्बाप्पे अन्य क्लबसँग अग्रिम सम्झौता गर्न खुला भएपनि त्यस्तो केहि गर्ने पक्षमा छैनन्। एम्बाप्पेले आफ्नो भविष्यबारे पिएसजीका लागि सिजनका सबै खेल खेलिसके पश्चात निर्णय लिने फ्रेन्च मिडियाहरु बताउँछन्।
पिएसजी अहिले नै फ्रेन्च लिग वान च्याम्पियन बनिसकेको छ। पिएसजीले अब सिजनका चार खेल मात्रै खेल्न बाँकी छ। पिएसजीको अन्तिम खेल मे २१ (नेपालमा मे २२)मा छ। सो खेल पश्चात एम्बाप्पेले आफ्नो भविष्य बारे मुख खोल्नेछन्। सो खेल पिएसजीका लागि अन्तिम खेल पनि हुन सक्छ।

