एजेन्सी – म्यानचेस्टर सिटीका प्रशिक्षक पेप गार्डियोलाले च्याम्पियन्स लिगमा रियल म्याड्रिड विरुद्ध सिटीको वास्तविक परीक्षा हुने बताएका छन्। च्याम्पियन्स लिगमा रियलको सामना गर्नु अगाडी आयोजित पत्रकार सम्मेलनमा गार्डियोलाले रियल विरुद्ध सिटीको वास्तविक परीक्षा हुने बताएका हुन्।
पत्रकारहरुसँग कुराकानी गर्दै गार्डियोलाले रियल विरुद्धको खेल आफूहरुका लागि अविश्वसनीय परीक्षा हुने बताए। त्यसक्रममा उनले रियलको इतिहाससँग प्रतिष्पर्धा गर्ने हो भने आफूहरु छेउ-छाउ पनि नआउने बताउन छाडेनन्।
“यदि हामीले इतिहाससँग प्रतिस्पर्धा गर्ने हो भने हामीसँग कुनै मौका हुने छैन। हामी रियलको नजिक पनि पर्दैनौं। इतिहास आफैं बोल्छ। हाम्रो लागि यो अविश्वसनीय परीक्षा हुनेछ।”,गार्डियोलाले भने।
खेलमा ३ गोलले पछि पर्दा पनि रियलमा पुनरागमन गर्न सक्ने खेलाडी रहेको गार्डियोलाले बताए। ३ गोलले पछाडी पर्दा अन्य क्लब हार खाने भएपनि रियलक खेलाडीहरु हार नखाने गार्डियोलाको भनाई छ।
उनले भने,”मलाई सबैभन्दा मनपर्ने कुरा रियलका खेलाडीहरु ३-० ले पछि पर्दा पनि हार खाँदैनन्। त्यहाँ त्यस्तो अवस्थामा पनि हात उठाएर हामी छौँ भन्ने खेलाडीहरु छन्। तीन गोलले पछि पर्दा अरु हार खान्छन्। तर मोड्रिक र क्रुस, वा कार्भाजल र अलाबा, बेन्जेमा जस्ता खेलाडीहरु हार खाँदैनन्।”