एजेन्सी – इटालियन भेट्रान डिफेन्डर जर्जियो चेलिनीले अन्तर्राष्ट्रिय खेलबाट सन्न्यास लिने घोषणा गरेका छन् । ३७ वर्षीय चेलिनीले आउदो जुनमा अर्जेन्टिनासँग हुने खेलपछि अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिने घोषणा गरेका हुन् ।
१ जुनमा युरोकपको च्याम्पियन इटाली र कोपा अमेरिका कपको च्याम्पियन अर्जेन्टिनाबीच वेम्वली स्टेडियममा मैत्रीपूर्ण खेल हुने तालिका छ ।
सोमबार राति सिरी ‘ए’ मा सस्सुलोमाथि २–१ को जितसँगै भेट्रान डिफेन्डर चेलिनीले अन्तर्राष्ट्रिय ड्युटीबाट सन्न्यास लिने बताएका हुन् ।
‘यदि म ठीक टु भने, म खेल्नेछु र राष्ट्रिय टोलीलाई वेम्वलीमा बिदाई गर्नेछु, अर्जेन्टिना जस्तै उत्सवमुलक खेलको साथ राष्ट्रिय टोलीबाट गुडबाई भन्न पाउनु राम्रो हुनेछ । राष्ट्रिय टोलकिा लागि यो अन्तिम पटक हुनेछ ।’ चेलिनीले भने । चेलिनीको कप्तानीमा इटालीले गएको समरमा युरो–२०२० को उपाधि जितेको थियो ।
युरोकपको च्याम्पियन बनेपनि इटाली यसैवर्षको विन्टरमा एसियाली राष्ट्र कतारमा आयोजना हुने फिफा विश्वकप कतार २०२२ मा छनोट हुन असफल भएको छ । चेलिनीले इटालीका लागि १ सय १६ अन्तर्राष्ट्रिय खेल खेल्दा ८ गोल गरेका छन् । उनले इटालीका लागि सन् २००४ मा डेब्यु गरेका थिए । त्यसयता उनी इटालीका लागि महत्वपूर्ण सदस्य रहँदै आएका हुन् ।