एजेन्सी – प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीका जर्मन मिडफिल्डर इल्के गुन्डोगनले रियल म्याड्रिडका करिम बेन्जेमा बालोन डी’ओरको हकदार रहेको बताएका छन्। च्याम्पियन्स लिगमा रियलको सामना गर्नु अगाडी एक मिडियासँग कुराकानी गर्नेक्रम गुन्डोगनले बेन्जेमा बालोन डी’ओरको हकदार रहेको बताएका हुन्।
आरटिवानसँग कुराकानी गर्नेक्रममा गुन्डोगनले बेन्जेमासँग बालोन डी’ओर जित्न आवश्यक सबै कुरा रहेको बताए। गुन्डोगनका अनुसार बेन्जेमा हालको अवस्थामा विश्वका उत्कृष्ट स्ट्राइकर हुन्।
“अहिले, मेरो लागि लेवान्डोस्कीसँगै बेन्जेमा विश्वको उत्कृष्ट स्ट्राइकर हुन्। बेन्जेमा खुटा मात्र नभई हावामा पनि राम्रो छन्, उनी हेडिङ पनि उत्तिकै राम्रो गर्छन्।”,बेन्जेमाले आरटिवानसँग कुराकानी गर्नेक्रममा गुन्डोगनले बने।
अन्तर्वार्ताका क्रममा गुन्डोगनले बेन्जेमा पहिला अन्य खेलाडीको छायाँमा परेको बताउन पनि छुटाएनन्। पहिला क्रिस्टियानो रोनाल्डोको छायाँमा परेपनि बेन्जेमा अहिले खुलेर प्रदर्शन गरिरहेको गुन्डोगनले बताए। उनले भने,”मलाई लाग्छ कि विगतमा उनको कम मूल्याङ्कन गरिन्थ्यो। उनी ‘अन्डररेटेड’ थिए। तर अहिले उनले आलोचकहरूलाई गलत साबित गरिरहेका छन्।”
गुन्डोगनले रोनाल्डोले रियल छाडेपछि बेन्जेमा लगातार राम्रो प्रदर्शन गरिरहेको र त्यसले उनीतर्फ सबैको ध्यान तानिएको बताए। उनका अनुसार बेन्जेमाले अहिले राम्रो स्थान पाइरहेका छन्।
“लामो समयसम्म उनी क्रिस्टियानो रोनाल्डोको छायाँमा थिए। तर अहिले उनी त्यस छायाँबाट बाहिर निस्किएका छन्। विशेष गरी प्रेसमा उनले राम्रो स्थान पाइरहेका छन्। उनका उपलब्धिहरू आफैं बोल्छन्। बेन्जेमासँग बालोन डी’ओर जित्नको लागि आवश्यक सबै छ।”,उनले भने।